नेपालको पूर्वमा रहेको प्रदेश नम्बर १ को नाम राख्ने विषयमा बहस शुरु हुन लागेको छ । प्रदेशको नाम राख्ने विषयमा फरक फरक नामका लागि बहस शुरु भएको हो ।

यस प्रदेशमा नामकै लागि दिनहुँजसो दबाबमूलक कार्यक्रम पनि हुन थालेका छन् । नामका लागि मुख्यमन्त्री शेरधन राईलाई बिन्तीपत्र समेत बुझाइसकेका छन् । आफूलाई मनपर्ने नाम प्रदेशको राख्न आग्रह गर्दै बिन्तिपत्र बुझाएका हुन् ।

सप्तकोशी, सगरमाथा, लिम्बुवान, थरुहट, किराँत नाम राख्नका लागि पहल र छलफल भैरहेका छन् ।  त्यसैगरी प्रदेशको राजधानीको नाम राख्न बिषयमा छलफल समेत भईरहेको छ । अस्थायी राजधानीको रुपमा विराटनगरबाट प्रदेशको काम शुरु भैसकेको छ । विराटनगरमा जिल्ला समन्वय समितिको कार्यालयबाट मुख्यमन्त्रीले काम गरिरहेका छन् ।

भौतिक संरचना धेरै नभएपनि बिराटनगरमा कार्यालय राखी मुख्यमन्त्रीले सबैलाई पायक पर्ने ठाँउ छानेर भौतिक संरचना निर्माण गर्ने मुख्यमन्त्री राईले बताएका छन् । सबै जातजाति र क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी नाम राख्न दबाब बढेको छ ।

प्रदेश १ नम्बर प्रदेशको नाम किराँत राज्य नामाकरण गर्न उदयपुरमा हस्ताक्षर कार्यक्रम सुरु भैसकेको छ । उदयपुरमा स्थानीय किराँत समुदायले सदरमुकाम गाईघाटको पीपलचोकमा कार्यक्रम गर्दै हस्ताक्षर अभियान शुरु भएको नेकपा माओबादी केन्द्रका बिमल किराँतीले जानकारी दिए ।

देश संघीयतामा गइसकेकाले जातिय तथा क्षेत्रीय रुपमा विवाद हुने नाम राख्न नहुने एमालेका नेताले बताए । कुनै एउटा जातलाई भन्दा सबैलाई मान्य हुने नाम राख्नुपर्नेमा नेताहरुको जोड छ । प्रदेश १ को नाम सप्तकोशी, सगरमाथा राखेमा कसैलाई असर नपर्ने स्थानीय जय नेपाल शाहले बताए ।

शिखरन्युजबाट