विराटनगर/ ललितपुर महानगरपालिका – ३ मा घरेलु कामदारको रुपमा कार्यरत मोरङको कटहरी गाउँपालिका – १ घर भएकी १७ वर्षिय किशोरी आइसा कुमारी चौधरीको बलत्कारपछि हत्या गरेको भन्दै तीन जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।

चौधरीले झुण्डिएर आत्महत्या गरेको नभई बलत्कारपछि उनको कर्तब्य गरेर हत्या गरिएको भन्दै पीडित पक्षले सासु–ससुरा र ज्वाईसहित तीन जनाको नाम किटानी गर्दै जाहेरी दिएका हुन् ।

पीडितकी आमा गुल्जारी चौधरीले मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ मार्फत महानगरीय प्रहरी परिसर ललितपुरमा जाहरी दरखास्तपत्र पठाएकी छिन् । आइशा घरेलु कामदारको रुपमा काम गर्न गएकी ललितपुर महानगरपालिका – ३ निवासी बिनय दाहाल र आइसालाई सो ठांउमा काम गर्न पठाउने दाहालका सासु–ससुरा केशव सिलवाल र गीता सिलवाल विरुद्ध उजुरी दर्ता गराईएको छ । नातामा सिलवालका विनय ज्वाँई पर्दछन् । सिलवाल दाम्पती विराटनगर – ७ मा बसोबास गर्दछन् ।

महानगरीय प्रहरी परिसर ललितपुरलाई पठाइएको जाहेरीमा आइसाले आत्महत्या गरेको नभई हत्या गरिएको दाबी गरिएको छ । पीडित परिवारको जाहेरी दरखास्त पत्र बुझदै मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई मंगलबारनै चिठी र जाहेरी दरखास्त पत्र पठाउने बताए । आफ्नो जिल्लामा घटना नभएका कारण क्षेत्राधिकार बाहिर रहेर अनुसन्धान गर्न नमिल्ने भएपछि जाहेरी सम्बन्धित कार्यालयमा पठाउने उनले बताए ।

आइसाले गत शुक्रबार झुण्डिएर आत्महत्या गरेको भन्दै दाहाल परिवारले आमा गुल्जारीलाई छोरीले चोरी गरेको कारण प्रहरी हिरासतमा परेको छ भन्दै झुक्याएर काठमाडौं बोलाई शव जिम्मा लगाएर पठाएका थिए ।

यसैबीच आइसाको मृत्युबारे सत्यतथ्य छानविन गर्न माग गर्दै मोरङका अधिकारकर्मीहरुले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार पूर्वाञ्चल मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, ओरेक, जागरण नेपाल, सिविन, बपरडेकलगायत १८ बटा संघसस्थाको टोलीले पीडितलाई न्यायसहित क्षतिपुर्ति दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

मानवअधिकारर्कीहरुको ज्ञापन बुझ्दै प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले घटनामा ब्यापक प्रश्न उब्जने ठांउहरु रहेकाले ललितपुर प्रहरीलाई गम्भीर ध्यानाकर्षण गराईने बताए । पढाईदिने बाचामा घरेलु कामदारका रुपमा ललितपुर ३ का विनय दाहाल र लीना सिलवालले बालिका लगेकोमा बालिकाले आत्महत्या गरेको भन्दै शव बुझाउने घटना शंकास्पद रहेको ज्ञापनपत्रमा उल्लेख छ । किशोरीको निधनपछि एक जना अभिभाबकलाई मात्र झुटो सूचना दिएर विमानमार्फत काठमाडौँ लैजानु र आत्महत्या गरेको काजगमा सही गराएर शव बुझाउनु गम्भीर भएको उनीहरको ठहर छ ।

अभिभावकको उपस्थितिबिना झुडिएको भनिएको डोरी काटिएको, अभिभावकको उपस्थितिबिना पोष्टमार्टम गरेको, शवको प्रकृतिलाई हेर्दा हत्केलामा निलडाम र हातका विभिन्न भागमा धारिलो हतियारले काटेको देखिनुले घटना शंकास्पद भएको अधिकारकर्मीहरुको भनाइ छ । मृतकको देब्रे गालामा निर्मम कुटपटिबाट अस्वाभिवक रुपमा गाला फुलेको पनि देखिएकोले निश्पक्ष छानविनको माग गरिएको छ ।

आइसाले गहना र पैसा चोरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ भनेर आमालाई लगिएको भएपछि छोरीको शव जिम्मा लगाएर दाहाल परिवारले पठाएको थियो । घटनाको सत्यतथ्य छानविन गर्न माग गरिएको इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले बताए ।

पीडित परिवार, आफन्तजन र शुभचिन्तहरुले आइसाको नियोजित रुपमा हत्या गरिएको भन्दै आइतबार विराटनगरमा मृतकको शव बाकसमा राखी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरापलिकाको गेट अगाडी प्रदर्शन गरेपछि सोमबार परिवारले विराटनगरको सिंघीया खोलामा आइसाको दाहसंस्कार गरीएको थियो ।