शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालय परिसरलाई व्यवस्थित गर्ने काममा उपप्रमुखको अगुवाईमा जनप्रतिनिधिहरु आफैंले श्रम गरेका छन् ।

पथरी बजारमा रहेको कार्यालय हातामा रहेका अनावश्यक वस्तु निकाली खाली ठाउँलाई सम्याउने र गिट्टी हाल्ने काममा मंगलबार विहानैदेखि उनीहरु खटेका हुन् ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वडाध्यक्षहरु वावुराम एङ्देन, यामप्रसाद गुरागाईं, डम्बरबहादुर चेम्जोङ, कपिलमणि ढकाल, कार्यवाहक वडाध्यक्ष मैनादेवी फुयाँल आचार्य, स्वास्थ्य संयोजक मुरारी आचार्य खटिएका छन् । वडाध्यक्षहरुको पहलमा वडासदस्यहरु दुर्गाप्रसाद सिटौला, अग्नी गुरुङ, रोमान्सी धिमाल सहितले परिसरलाई व्यवस्थित गर्न खटिएको नगर प्रवक्ता समेत रहनु भएका वडाध्यक्ष याम गुरागाईंले वताए । नगरपालिकाको शौचालयलाई समेत व्यवस्थित गर्दै परिसरमा सेवाग्राही वस्ने चौतारी समेत निर्माणको योजना रहेको गुरागाईंले उल्लेख गरेका छन् ।

मोटर, मोटरसाइकल र साइकलको पार्किङ समेत व्यवस्थित गर्ने कार्यक्रम रहेको उनले वताए ।