धनगढी/ कैलाली कारागारमा रहेका टीकापुर घटनाका अभियुक्तहरुले आज आठौँ दिनमा अनशन तोडेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अनशनकारीमध्येका लाहुराम चौधरीलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।

अनशनकारीले राखेका माग सम्बोधनका लागि सम्बन्धित निकायमा पुर्याउने लगायत विषयमा सहमति भएपछि अनशन तोड्न सहमत भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । कैलाली निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई विजयी भएको प्रमाणपत्र दिई शपथ ग्रहणको व्यवस्था गर्नु पर्ने, टीकापुर घटनामा थुनिएकालाई लगाइएको मुद्दा फिर्ता लिनु पर्ने, थरुहट संघर्ष समितिले राखेका माग सम्बोधन हुनुपर्नेलगायत माग राखेर पुर्पक्षका लागि कारागारमा रहेका २४ जनाले यही फागुन २० गतेदेखि कारागारमै अनशन थालेका थिए ।

अनशनकै क्रममा बिरामी परेका रेशमलाल चौधरीको थप उपचार आवश्यक रहेको भन्दै सेती अञ्चल अस्पतालले सिफारिस गरेपछि उहाँलाई दुई दिनअघिमात्रै काठमाडौँ पुर्याइएको थियो । दुई वर्षअघि टीकापुरमा भएको हिंसात्मक घटनामा आठजना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

रासस