रौतहट/ पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासको गतिमा दुई नम्बर प्रदेश अगाडि हुने बताएका छन् । रौतहटमा सोमबार चन्द्रपुर महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । ‘प्रदेश २ सुगम र आफैमा सुविधा सम्पन्न भएकाले यहाँको विकास अन्य प्रदेशको भन्दा नमुनाको रुपमा हुन्छ’ प्रचण्डले भने ।

प्रचण्डले भाषण गर्ने दिन गएको भन्दै अव कामनै गरेर देखाउने समय आइसकेको पनि बताए । ‘प्रदेश २ मा अधुरा रहेका राष्ट्रिय महत्वका योजनाहरु वीरगञ्जदेखि जनकपुर रेलमार्ग,काठमाडौदेखि तराई जोडने द्रुतमार्ग, निजगढ स्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई बामसरकारलाई प्राथमिकतामा राखेको छ’ प्रचण्डको भनाई थियो । त्यसैगरी तराईको विकासका लागि अतिनै महत्व राख्ने हुलाकी राजमार्ग निर्माणमा गति ल्याउन सरकार लागिरहेको र केहिदिन भित्रै शिलान्यास हुने प्रचण्डले जनाए ।

स्थानीय निर्वाचनताका चन्द्रनिगाहपुरम १० रात बिताएको सम्झ्ना गर्दै प्रचण्डले चन्द्रपुरमा औद्योगिक क्षेत्र र स्मार्ट सिटी बनाउने आफ्नो लक्ष्य रहेको सुनाए । कार्यक्रममा सांसद बिनोद चौधरीले नेपालका ब्यापारी आफैमा सक्षम रहेकाले सरकारले अवसर मात्रै दिए विकासले आफै गति लिने बताए ।

‘सरकारले अरु केही गर्नु पर्दैन विगतमा अधुरो रहेको राष्ट्रिय महत्वका योजनाहरुलाई ग्राहयता दिए देश्को विकास हुन्छ’ चौधरीले भने । चन्द्रपुर जेसिजद्वारा आयोजित महोत्सव आजदेखि १० दिनसम्म चल्ने चपुर जेसिजका अध्यक्ष अनन्त अधिकारीले जानकारी दिए ।

उक्त अवसरमा बिधायक कुन्दन कुश्वाहा,नागेन्द्र यादव,धनलाल ठोकर,लागायत पूर्व सांसदहरु,स्थानीय मिकायका जनप्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।