इन्सपेक्टर चन्द्रमुखीको नामले लोकप्रिय अभिनेत्री कविता कौशिकले सामाजिक सञ्जालमा आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छिन्। श्रीमान् रोनित विश्वाससँग बिदा मनाउने क्रममा कविताले बिकिनीमा खिचिएका तस्बिर तथा एउटा छोटो भिडियो इन्स्टाग्राममा अपलोड गरेकी छिन्। उनले ती तस्बिर फेसबुकमा पोस्ट गर्दा चाँही एउटा मन छुने सन्देश पनि लेखेकी छिन्। कविताले ती युवतीहरूलाई सम्झाउने प्रयास गरेकी छिन् जो मोडल तथा अभिनेत्रीलाई निकै सुन्दर मान्छन् र आफ्नो फिगर, बर्थ मार्क, वजन तथा शरीरका दागका कारण सधैं चिन्तित हुन्छन्।

कविताले लेखेकी छिन्–‘युवतीहरू बिकिनी त लगाउन चाहन्छन् तर आफ्नो शरीरका कारण अप्ठ्यारो मान्छन्। वजन, शरीरमा भएका दाग आदिका कारण बिकिनी लगाउँदैनन्।’ बजारमा उपलब्ध क्रिममार्फत दाग हटाउन तथा शरीरमा भएका बर्थ मार्कहरू लुकाउन सकिने उनको भनाइ छ। ‘मेरो शरीरमा पनि केही निशान छन् तर मैले बिकिनी लगाएँ,’ उनको भनाइ छ ‘जसरी हुन्छ हामीले खुसी हुने प्रयास गर्नुपर्छ। त्यसका लागि स्वस्थ खाना खानुपर्छ, जिम जानुपर्छ अनि आफ्नो शरीर जस्तो छ, त्यसमै खुसी हुन सक्नुपर्छ।’