भद्रपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार बनेका स्वतन्त्रसहित १सय ४१ जना उम्मेदवार मध्ये २४ जनाले अझै निर्वाचन खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचन आयोगले तोकेको समयअवधि भित्र खर्च विवरण नबुझाउनेमा प्रतिनिधिसभा तर्फका १० जना र १४ जना प्रदेशसभा तर्फका उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जनागरी १४१ जना उम्मेदवार मध्ये ११७ जनाले ३५ दिनभित्रै निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले बताए । सबै भन्दा बढी झापा क्षेत्र नम्बर ४ र ५ का उम्मेदवारले खर्च विवरण नबुझाएको कार्यालयको रेकर्डमा देखिएको आचार्यको भनाइ छ । जिल्लामा मंसीर २७ गते मतगणना सकिएदेखि ३५ दिनभित्र अर्थात माघ ३ गतेसम्म समयअवधि ठुला दलका उम्मेदवारले सबै खर्च विवरण बुझाइसकेका छन् भने स्वतन्त्रसहित केही साना दलले खर्च विवरण समयअवधिमा बुझाउन नआएको उनले जनाए । निर्वाचन आयोग ऐन २०७३ को दफा २६ र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन ऐन २०७४ अनुसार कुनै पनि राजनीतिक दल÷उम्मेदवारले निर्वाचन खर्चको विवरण ३५ दिनभित्र पेश नगरिएको खण्डमा ५ लाख सम्म जरिवाना गर्ने कानुनी व्यवस्था बनाएको छ । राजनीतिक दल÷उम्मेदवारले आयोगले तोकेको जरिवाना पनि ६ महिना सम्म नबुझाएको खण्डमा ती दलका उम्मेदवारलाई ६ बर्ष सम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउने व्यवस्था पनि गरेको आयोगमा उल्लेख गरिएको छ ।

क–कसले बुझाएनन् खर्च विवरण (सूचीसहित)

प्रतिनिधिसभा सदस्यतर्फ ः झापा –३ अविचन्द्र भण्डारी ( राष्ट्रिय जनमोर्चा) झापा –३ वीरेन्द्र सापकोटा ( स्वतन्त्र) झापा –४ हरीभक्त संग्रौला (देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल) झापा –४ सुभाष अधिकारी (ग्रीन पार्टी नेपाल) झापा –४ पर्शुराम काफ्ले (स्वतन्त्र) झापा –४ डिल्लीप्रसाद कट्टेल (स्वतन्त्र) झापा –५ बासुदेव दुलाल (देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल) झापा –५ प्रेमबहादुर खडका (स्वतन्त्र), इन्द्रप्रसाद न्यौपाने (स्वतन्त्र) र इन्द्रराज अधिकारी स्वतन्त्र) प्रदेशसभा सदस्यतर्फ ः झापा– १ ः (क्षेत्र १) मनबहादुर लिम्बु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) झापा –३ (क्षेत्र १) भक्तबहादुर विश्वकर्मा (देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल) झापा –४ (क्षेत्र १) हरिप्रसाद गौतम (देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल) झापा –४ (क्षेत्र २) पुरुषोत्तम काफ्ले (राष्ट्रिय जनमोर्चा), धिरजनारायण गणेश (राष्ट्रिय शिवसेना), धनबहादुर बुढाथोकी (स्वतन्त्र), दिनानाथ खतिवडा (स्वतन्त्र) र जग्गनाथ अधिकारी (स्वतन्त्र) झापा –५ (क्षेत्र १) रुद्र राई (देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल), कृष्णराज शर्मा (राष्ट्रिय मुक्ति आन्दोलन नेपाल), हरिप्रसाद अधिकारी (स्वतन्त्र), जम्मावती तिमल्सीना (स्वतन्त्र), खड्गप्रसाद अधिकारी (स्वतन्त्र) र डम्बरबहादुर गुरुङ (स्वतन्त्र)