भद्रपुर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य लागि झापाबाट उम्मेदवारी दिएका मध्ये चार शीर्ष नेता सहित ३० जनाले एक करोड ५२ लाख ७७ हजार तीन सय साठी रुपैयाको चुनावी खर्च बुझाएका छन् । जिल्लामा मंसीर २७ गते मतगणना सकिएदेखि ३५ दिनभित्र अर्थात माघ ३ गतेसम्म उम्मेदवारले चुनावी खर्च विवरण पेश गर्नुपर्ने भएता पनि ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयमा हालसम्म ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यले चुनावी खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका शीर्ष नेतातर्फ झापा क्षेत्र ५ बाट उम्मेदवारी दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले २४ लाख १ हजार १६० रुपैया ,३ नम्बर बाट उम्मेदवारी दिएका नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको २२ लाख ६८ हजार , १ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की (राम) र नेपाली काग्रेसका नेता विश्वप्रकाश शर्माले क्रमश २४ लाख १० हजार र २१ लाख ६८ हजारको आफ्नो चुनावी खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले जनाए । शीर्ष नेतातर्फ झापा ३ बाट उम्मेदवारी दिएका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनले भने हालसम्म चुनावी खर्च बुझाएका छैनन । त्यसैगरी प्रतिनिधिसभा तर्फ ओलीको प्रतिद्धन्द्धी नेपाली काँग्रेसका डां खग्रेन्द्र अधिकारीले २४ लाख ७५ हजार, झापा ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बुले २३ लाख ६३ हजार, झापा ३ बाट राजपाका सुन्दरलाल साहले ६ लाख ५० हजार, झापा ४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी)का तेजबहादुर थापाले ३ लाख ५ हजार, झापा ३ बाट विवेकशिल साझा पार्टीका साजन सुब्बाले ६३ हजार, झापा २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले ६५ हजार र विवेकशिल साझा पार्टीका नवीन वास्तोलाले १ लाख ९ हजार २ सय को खर्च विवरण पेश गरेको आचार्यले बताए । झापाका ५ वटा क्षेत्रमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जनागरी १ सय ४१ जना उम्मेदवार रहेका थिए । निर्वाचन कार्यालयले खर्चको विवरण पेश गर्ने सम्बन्धित दल तथा तिनका उम्मेदवारलाई जानकारी गराई सकेकोले उम्मेदवारहरु खर्च विवरण बुझाउन थालेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले १५ लाख खर्च गर्नुपर्ने प्रावधान तोकेको थियो ।