गाईघाट (रासस)। गत मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा खटिने उदयपुर जिल्लाका तीन उत्कृष्ट कर्मचारीलाई शनिबार सम्मान गरिएको छ ।

निर्वाचनको समयमा उत्कृष्ट कार्य गरेर सम्मानित हुनेमा उदयपुरको बेलका नगरपालिकास्थित कमलबारी मावि मतदान केन्द्रका मतदान अधिकृत दुर्गानन्द गुप्ता, बालमन्दिर मावि गाईघाट बोक्से केन्द्रमा खटिने मतदान अधिकृत निर्मला कार्की र नारद आदर्श उच्च मावि बसाहा मतदान केन्द्रमा खटिने मतदान अधिकृत ताराकुमार राई रहेका छन् ।

यसरी उत्कृष्ट हुने तीन कर्मचारीलाई उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा र उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश रामप्रसाद ओलीले सम्मानपत्रसहित दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

यस्तै निर्वाचनको समयमा शान्तिसुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेबापत प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, नेपाली सेना सार्दुल गण बोक्सेका प्रमुख राजेन्द्र पन्त, उदयपुरका प्रहरी प्रमुख नवराज भट्ट, त्रियुगा सशस्त्र प्रहरी गुल्मका प्रमुख पुरनचन्द भट्ट, राष्ट्रिय अनुसन्धान विभाग उदयपुरका प्रमुख तीलक शर्मा प्रसाईं र जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतलाई पनि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश ओलीले दोसल्ला ओढाइ सम्मान गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।