विराटनगर/मोरङमा प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवारी दिएका १ सय ६९ उम्मेदवारमध्ये १ सय २८ जनाको जमानत जफत भएको छ । जिल्लाबाट विजयी १८ उम्मेदवारसहित ४१ जनाले मात्र जमानत जोगाएका छन् । प्रतिनिधिसभातर्फ ४८ र प्रदेशसभातर्फ ८० जना उम्मेदवारको जमानत जफत भएको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

निर्वाचन ऐनका अनुसार सदर मतको १० प्रतिशत प्राप्त नगर्ने उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा जम्मा गरेको धरौटी जफत हुन्छ । जसबाट प्रतिनिधि सभामा ४ लाख ८० हजार, प्रदेशत सभामा ४ लाख गरी ८ लाख ८० हजार रुपैयाँ उम्मेदवार दर्ता गराउँदा जम्मा गरेको धरौटी जफत भएको छ । प्रतिनिधि सभामा उम्मेदवार बन्न १० हजार रुपैयाँ तथा प्रदेश सभाको उम्मेदवारको लागि ५ हजार रुपैयाँ धरौटि निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।

१० प्रतिशत कटाउने उम्मेदवारले भने प्रक्रिया पुरा गरेमा धरौटी फिर्ता पाउँछन् । जिल्लामा प्रतिनिधिसभाका १३ र प्रदेशसभाका २८ उम्मेदवारले मात्र १० प्रतिशत मत ल्याएका छन् ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्वर १ मा १० जनाले उम्मेदवारी दिएकोमा ८ जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्वर २ मा १२ जनाले उम्मेदवारी दिएकोमा १० जना, क्षेत्र नम्वर ३ मा १३ जनाले उम्मेदवारी दिएकोमा ११ जना, क्षेत्र नम्वर ४ मा ९ जनाले उम्मेदवारी दिएकामा ७ जना र क्षेत्र नम्वर ६ मा १० जनाले उम्मेदवारी दिएकोमा ८ जनाले जमानत जोगाउन सकेनन् । ती क्षेत्रमा विजेता र प्रमुख प्रतिष्पर्धीको मात्र जमानत जोगिएको छ ।

क्षेत्र नम्वर ५ मा भने ७ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्वर ५ मा बाम गठबन्धन, नेपाली काँग्रेस बाहेक संघिय समाजवादी फोरमका राजकुमार यादवले जमानत जोगाएका छन् । प्रतिनिधिसभामा यादवले मात्रै बाम गठबन्धन र नेपाली काँग्रेस बाहेकका दलबाट जमानत जोगाएका हुन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्वर १ (१)मा उम्मेदवारी दिएका ११ जनामध्ये ९ जनाले जमानत जोगाउन सकेनन् भने १(२) मा ९ जनामध्ये ७, क्षेत्र नम्वर २ (१) मा ८ मध्ये ६, २(२) मा ९ मध्ये ७, क्षेत्र नम्वर ३ (१) मा ८ मध्ये ६, ३(२) मा ९ मध्ये ७ उम्मेदवारको जमानत जोगिएन । त्यसैगरि क्षेत्र नम्वर ४ (१) मा ९ मध्ये ७, ४ (२) मा ७ मध्ये ४ जनाको जमानत जोगिएन । सो क्षेत्रमा बाम गठबन्धन र नेपाली काँग्रेस बाहेक संघीय समाजवादी फोरमका उम्मेदवार श्रीराम कामतले पनि जमानत जोगाएका छन् ।

क्षेत्र नम्वर ५ (१) मा ६ मध्ये ३ जनाको जमानत जोगिएको छ । भने ५ (२) मा १० मध्ये ३ जनाले जमानत जोगाएका छन् । क्षेत्र नं. ५ का दुबै प्रदेशसभामा बाम गठबन्धन र नेपाली काँग्रेस बाहेक संघीय समाजवादी फोरमका उम्मेदवारको जमानत सुरक्षित भएको हो ।

नम्वर ६ (१) मा १२ जनाले उम्मेदवारी दिएकोमा १० र ६ (२) मा १० जनाले उम्मेदवारी दिएकोमा ७ जनाको जमानत जोगिएन । ६(२) मा बाम गठबन्धन र काँग्रेससहित संघीय समाजवादीका उम्मेदवारले पनि जमानत बचाएका छन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवार बाहेक जमानत जोगाउनेमा संघिय समाजवादी फोरमका उम्मेदवार रहेका छन् । फोरमका प्रतिनिधिसभा १ र प्रदेशसभामा ४ उम्मेदवारले जमानत जोगाएका हुन । सो पार्टीले प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्वर ४ बाहेक ५ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो ।