काठमाडौँ । तराईमा आएको बाढीले क्षति बेहोरेका किसानलाई कृषि विकास मन्त्रालयले १ अर्ब २५ करोड ५ लाख ६० हजार रुपैयाँ राहतका लागि पठाएको छ । त्यसमध्ये करिब ८० करोड रुपैयाँ अनुदान किसानको खातामा पुग्नेछ । २६ साउनदेखि परेको अविरल वर्षापछि आएको बाढीले तराईका २० जिल्लाको कृषि क्षेत्रमा ६ अर्बको नोक्सान गरेको थियो । त्यसलाई तत्काल पूर्ति गर्न प्रभावित क्षेत्रका किसानलाई ८० करोड रुपैयाँ अनुदान प्रवाहका लागि बजेट निकासा भएको कृषि मन्त्रालयका प्रवक्ता डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

‘बाढी प्रभावित २० जिल्लामा कुल १ अर्ब २५ करोड रुपैयाँ निकासा भएको छ । यसमा २० करोड रासायनिक मल र २० करोड प्रांगारिक मल खरिदका लागि उपयोग हुनेछ,’ उनले भने, ‘बाँकी रकम किसानले बेहोरेको क्षतिका आधारमा बैंक खातामा जम्मा गरिदिने गरी पठाएका छौँ ।’अनुदान रकमलाई पारदर्शी ढंगले किसानसम्म पु¥याउन बैंक खातामा जम्मा गरिदिन लागेको उनले बताए । ‘बैंकमा खाता नभएका किसानलाई कर्मचारीले खाता खोल्न सहजीकरण गरिदिनेछन्,’ उनले भने, ‘अनुदान रकम पारदर्शी रूपले वितरण गर्न बैंक खातामा पठाउन लागिएको हो ।’

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा किसानले बेहोरेको क्षतिको मूल्यांकन गर्न समिति गठन भएको र सोही समितिले सिफारिस गरेका आधारमा किसानलाई राहत रकम उपलब्ध गराउने उनले बताए । ‘सुरुमा किसानले बेहोरेको क्षतिको स्वघोषणा गरेका थिए,’ उनले भने, ‘किसानले दाबी गरेको क्षतिलाई प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले मूल्यांकन गरी कुन किसानलाई कति राहत दिने भनेर निर्णय हुन्छ । र, सोही आधारमा किसानलाई रकम वितरण हुन्छ ।’ बाढीले सबैभन्दा धेरै धानबालीमा क्षति पु¥याएको थियो । करिब ३ अर्बको धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै तरकारी, मकै, दलहन, माछा, केरा, कोदो, तेलहन, बदाम र बेसारमा बाढीले धेरै क्षति गरेको थियो ।