मुम्बई / बलिउड अभिनेत्री रेखाको ‘एजलेस ब्युटी’ लाई ६३औं जन्मदिनले पनि कुनै असर गर्न सकेन । ६३ वर्षमा प्रवेश गर्दै गर्दा पनि उनले पछिल्लो समयका अभिनेत्रीहरूलाई चुनौती दिएकी छन् । उनको अघिल्तिर उनको आधा उमेरका अभिनेत्रीहरू पनि ओझेल पर्छन् । उमेरले जित्न नसकेको उनको सुन्दरता भगवान्बाट यत्तिकै पाएको वरदान होइन । यसको लागि उनले जीवनलाई कडा अनुशासन चलाएकी छन् । शरीर स्वस्थ भएमात्र सुन्दरता कायम रहने हो । रेखा खानपानमा धेरै विचार गर्छिन् । उनको खानामा फास्ट फुड कहिल्यै पर्दैन । भोकै पनि बस्दिनन् । सही समयमा उपयुक्त भोजन गरेमात्र स्वस्थ रहन सकिने उनको मान्यता छ । खानामा तरकारी, फलफूल र जुस बढी प्रयोग गर्छिन् । दिनमा कम्तीमा आठ ग्लास पानी पिउँछिन् । तन, मन दुवैलाई सुन्दर बनाउने महत्वपूर्ण कार्य योग प्राणायाम रेखाको दैनिक तालिकाको महत्वपूर्ण पाटो हो । जतिसुकै व्यस्त समयमा पनि उनी योग गर्न छुटाउँदिनन् । सक्रिय जीवन शैलीले उनलाई सधैं ऊर्जावान् बनाइरहन्छ । अनुहारमा चमक ल्याउन कुनै बजारिया सौन्दर्य प्रसाधन प्रयोग गर्दिनन् । चलचित्रमा आफ्नो मेकअप आफैं गर्छिन् । कुनै पार्टी वा कार्यक्रम जाँदा आफैं तयार हुन्छिन् । उनको मेकअप शैली अरूभन्दा भिन्न छ । बलिउडका अन्य अभिनेत्रीले सुख्खा र टेलकम मेकअप गरिरहँदा रेखाले तैलीय मेकअपलाई चलचित्र उद्योगमै पहिलो पटक चिनाइन् । रेखाको आकर्षक स्टाइलले धेरैको मन भुतुक्क बनाउँछ । आफूलाई सुहाउँदो पहिरनमात्र लगाउँछिन् । यसको लागि उनी अरूको सहारा खोज्दिनन् । प्रायः औपचारिक कार्यक्रममा बनारसी सारी र सुन्दर गहनामा सजिएर पुग्ने रेखा जिन्स पनि आफू सुहाउँदो पहिरन ठान्छिन् । हरेक कार्यक्रममा पुग्दा आकर्षणको केन्द्र बनेर पुग्ने रेखाको वचस्र्व बलिउडमा ४० वर्षदेखि उत्तिकै देखिन्छ । केहीले उनको सुन्दरतालाई रहस्यमयी पनि भन्ने गर्छन् ।