काठमाडाैं/ पत्याउनै गाह्रो थियो जब खबर आयो रेखा थापा र आर्यन सिग्देल ८ वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन् । ८ वर्षसम्म एकअर्काको अनुहार समेत हेर्न नचाहेका रेखा र आर्यन कसरि एउटै फिल्ममा काम गर्न राजी भए रु यो प्रश्नको उत्तर अझैपनि उनीहरुका फ्यान जान्न इच्छुक छन् । यो जोडीद्वारा अभिनित फिल्म 'रुद्रप्रिया' कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । रेखा र आर्यनले एकसाथ फिल्ममा काम गर्नुको पछाडि दुई व्यक्तिको सबैभन्दा ठूलो हात छ निर्देशक सुदिप भूपाल सिंह र निर्माता रमेश एमके पौडेल । सुदिपभन्दा रमेशसँग आर्यनको राम्रो सम्बन्ध थियो । सुदिपले भने फिल्मको कथा रेखा र आर्यनलाई दिमागमा राखेर लेखेका थिए । आर्यनले यसअघि सुदिपले निर्देशन गरेको फिल्म 'माला'मा पनि काम गरेका थिए । सुदिप र रमेश दुवैलाई थाहा थियो आर्यन र रेखालाई एउटै फिल्ममा खेलाउनु भनेको फलामको चिउरा चपाउनु जस्तै हो । तर, ठूलो आँट बोकेर सुदिपले रेखालाई भने, ‘मैले तपाई र आर्यनका लागि भनेर फिल्मको कथा लेखेको हुँ । फिल्ममा आर्यन भए झन राम्रो हुन्थ्यो ।’ रेखाले आर्यनसँग आफ्नो कुनै गुनासो नभएको बताएपछि सुदिपले आर्यनसँग कुरा गर्ने सोच बनाए । फिल्म 'रुद्रप्रिया'को विषयमा आर्यन त्यसअघि नै जानकार थिए । फिल्ममा आर्यन लिने कुरा भैरहँदा उनी भने एक कार्यक्रमको शिलशिलामा कतारमा थिए । फिल्मका एक सदस्यले आर्यनलाई फोन लगाए र भने, ‘तपाईसँग रेखा थापा बोल्न चाहनुहुन्छ ।’ आर्यनले रेखाको नाम सुन्ने वितिक्कै फोन काटे । रेखालाई नमिठो लाग्यो । आर्यनले बेवास्ता गरेपछि निर्माण पक्षले फिल्ममा सुदर्शन थापा र अर्पण थापालाई साइन गरायो । यस्तैमा आर्यन नेपाल आए । आर्यन नेपाल आएपछि फिल्मका निर्माता पौडेलले रेखासँग भेट्न मिल्ने वातावरण तयार पारे र बल्ल-बल्ल उनी रेखासँग भेट्न तयार भए । ८ वर्षपछि रेखा र आर्यनको भेट रमेश एमके पौडेलको अफिसमा भएको थियो । पहिलो भेटमा उनीहरुले आफ्नो गुनासो एक-अर्कालाई पोखे र तयार भए 'रुद्रप्रिया'मा सँगै काम गर्न । सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मका निर्देशक सुदिप भूपाल सिंह र कार्यकारी निर्माता रमेश एमके पौडेलले रेखा र आर्यनलाई मिलाउन गरिएको संघर्षको कथा बेलिविस्तारमा सुनाए । यो सुन्दै गर्दा छेवैमा रहेका रेखा र आर्यनले हाँसो रोक्न सकेनन् । 'रुद्रप्रिया'को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आर्यनले भने, ‘८ वर्षपछि रेखासँग कुरा गर्न अफ्ठ्यारो लागेका कारण मैले फोन काटेको थिएँ । रेखासँग मेरो सम्बन्ध कहिल्यै नराम्रो नभएको नै थिएन ।’ यस्तै, रेखाले आर्यन सधै आफ्नो मिल्ने साथी रहेको बताइन् । निर्देशक सुदिप भूपाल सिंहले ८ वर्षसम्म टाढिएको जोडीलाई 'रुद्रप्रिया'मा कलात्मक तरिकाले प्रस्तुत गरेको बताए । फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । यो फिल्ममा रेखा र आर्यनका अलावा राजन इशान, टिका पहारी लगायतका कलाकारहरु पनि अभिनय छ ।