काठमाण्डौं । चुनावी तालमेल गर्ने केहिदिन अघि सहमति गरेका एमाले र माओवादी केन्द्रलाई हाल आएर सिट बाँडफाँड गर्न समस्या परेको छ । दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरे पनि कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन । कार्यदलका संयोजक एमाले महासचिव इश्वर पोखरेलले मिलाउने प्रयास जारी रहेको बताए । कार्यदलस्तरको बैठकलाई निष्कर्षमा र्पुयाउन पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक सार्न आइतबार माओवादीले प्रस्ताव गरेपछि सोमबार बस्ने बैठकले सिट बाँडफाँडको खाका ल्याउन सक्ने पोखरेलले जनाए । विशेषगरी दुई विषयलाई आधार मानेर बाँडफाँड गर्ने समझदारी दुई दलबीच छ । प्रारम्भिक गृहकार्यअनुसार जित सुनिश्चित हुने उम्मेदवार र क्षेत्र छान्ने तथा २०७० को संविधान सभा र २०७४ को स्थानीय तह चुनावको मत परिणाम विश्लेषण गरेर क्षेत्र छुट्याइने छ ।