पाँचथर/ सरल तर गहन लेखनका कारण नेपाली कविताको केन्द्रमा रहेका कवि उपेन्द्र सुब्बाले मंगलबार साँझ फिदिममा एकल कविता वाचन गरे । लिम्बू चलचित्रकर्मी संघ पाँचथरले संयोजन गरेको ‘उपेन्द्र सुब्बा नामधिङ्गो साँझ’ मा कविता वाच्न आएका उपेन्द्रले पाँचथरे कविताप्रेमीलाई एकैसाथ रोमाञ्चित र गम्भिर बनाए ।

ढल्किंदै गरेको साँझ सँगै तमोरभ्याली गेष्ट हाउस स्थित चुम्देन हलको मञ्चमा उक्लेका उपेन्द्रले आफ्ना नयाँ कविता काठमाण्डौंमै छुटेको भन्दै पुरानै कविता सुनाए पनि दर्शकले बडो चाख मानेर सुने । किर्ति, पात, विश्वास, सपनाको कुरा जस्ता छोंटा कविताबाट सुरु गरेर सायद, भेडेटारको पिक्निक र किस्नेको बिहे कविता पढेर उपेन्द्रले मञ्चबाट बिदा माँगिरहँदा पनि दर्शकदीर्घाबाट भने कविताको डिमान्ड भइरहेको थियो । तर आयोजकले कार्यक्रम लम्ब्याउँन नचाहेपछि उपस्थित दर्शक केही निरास समेत बने ।

कार्यक्रममा आफ्ना कुरा राख्दै प्रमुख अतिथि पूर्वमन्त्री तथा लेखक श्रीप्रसाद जवेगुले स–साना कुराहरुलाई पनि बडो कलात्मक शैलीले कबिता बनाउँन सक्ने उपेन्द्रको कबिताले आफूलाई उत्तेजित बनाएको भन्दै उनका प्रत्येक कवितामा गहीरो जीवनबोध र दर्शन पाइने उल्लेख गरे । नेपाली कविताको प्रबद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मधु केरुङले बताए ।