धरान धरान र विराटनगरलाई रेलले जोड्ने विषय औपचारिक रुपमा बहसमा आएको छ । धरानकी उपमेयर मञ्जु भण्डारीले विराटगनरबाट धरान हुँदै धनकुटासम्म रेल चलाउने योजना रहेको बताएकी छन् । धरान जागर अभियानले आयोजना गरेको जागरण सभामा बोल्दै उनले धरान बिराटनगर रेल चलाउन सकियो भने यो क्षेत्रको आर्थिक कायापलट हुने बताइन् । धरान जागरण अभियानकी संयोजक मनिता घिमिरेले विराटनगरबाट धरान हुँदै चतरासम्म रेल चलाउने धारणा राखिन । यो परियोजनाका लागि सजिलैसँग बजेट जुट्ने भएकोले अब धरान जागरण अभियानले सुझाउने उल्लेख गरिन् । उनले धरान विराटनगर रेल चलाउन अभियानले जोडदार आवाज उठाउने बताइन् । मनिताले धरान सुतेको छ त्यसैले जगाउन आवश्यक छ भन्दै धरान जागरण अभियानले अब धरानको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा यावत क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताइन् । माओवादी नेता अइन्द्रविक्रम वेघाले भने रेलको चर्चा गरेनन् । उनले मञ्जुलाई लाक्षणिक कटाक्ष गर्दै भने, ‘योजना नै नाथे त हामीसँग पनि कति छ कति तर लागू गर्ने ठाउँमा पुगिएको छैन । धरानलाई सपनाको सहर बनाउने योजना हामीसँग थियो तर लागू गर्न सकिएन ।’ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक नारायणराज भट्टराईले धरानमा मात्र होइन नेपालमै भिजनको कुनै अभाव नभएको बताए । यस्ता भिजन जति भने पनि छन् तर अभाव अर्कै चिजको छ । अभाव हो मिशनको । भिजनलाई लागू गर्ने मिशन चाहिएको बताए । कांग्रेसका धरान नगर सचिव श्याम पोखरेलले धरान तलतल झर्दै डेड सिटी बन्ने खतरा भएकोले यसमा सबै दल र राजनीतिकर्मीहरु गम्भीर बन्न आवश्यक रहेको बताए ।