इलाम/भिरपाखामा त्यसै खेर गइरहेको बाँस अहिले जिल्लाका किसानको गतिलो आम्दानीको स्रोत बनेको छ ।

मेचीराजमार्ग र सडकको पहुँच पुगेका ग्रामीण क्षेत्रबाट बाँस काठमाडौँलगायत भूकम्प प्रभावित जिल्लामा बिक्री हुन थालेको छ । पाखाभित्तामा घरायसी प्रयोमा सीमित बाँसको माग भूकम्पपछि ह्वात्तै बढेको छ । शुरुमा अस्थायी टहरा निर्माणका लागि प्रभावित क्षेत्रमा पुग्ने यहाँको बाँसले त्यसपछि अन्य प्रयोजनका लागि स्थान पाएको हो ।

जिल्लाका विभिन्न गाउँबाट दैनिक ट्रकमा बाँस काठमाडौँ पठाउने गरिएको छ । किसानले रु ८० देखि रु १२० सम्ममा प्रतिगोटा बाँस बिक्री गर्न थालेका छन् । व्यवसायीले काठमाडौँमा प्रतिगोटा रु १७० देखि रु २०० सम्ममा बिक्री गर्ने गरेका छन् । वर्षौंदेखि नकाटिएका बाँस किसानले धमाधम बिक्री गरिरहेका छन् । बाँस बिक्रीबाट किसानले मनग्य आम्दानी गर्न थालेका इनपा–५ तोरीबारीका अग्नि अधिकारीले बताए ।

एक महिनामा ३० गाडीभन्दा धेरै बाँस काठमाडौँ पठाएको व्यवसायी मिलन लुङ्गेलीले बताए। घर टहरा, फर्निचर, हस्तकलाका सामग्रीलगायत विभिन्न क्षेत्रमा प्रयोगमा आउने बाँसको स्थानीयस्तरमा भने घरायशी प्रयोजनबाहेक उपयोग हुन सकेको थिएन । मालबाँस मात्र बिक्री हुने गरेकाले लेकाली क्षेत्रमा हुने किसानले आम्दानी लिन सकेका छैनन् ।

मेचीराजमार्गका विभिन्न स्थानबाट बाँस संकलन गरेर बिक्रीका लागि लैजाने गरिएको छ । बाँसको कारोबार बढेसँगै स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना भएको छ । हाँबाट लगिएको बाँस काठमाडौँदेखि बनेपासम्मका विभिन्न डिपोमा पुग्छ । यसअघि धनकुटा, तेह्रथुम, उदयपुरलगायत पूर्वका जिल्लाबाट समेत बाँस लग्ने गरिएको थियो । इलामबाट मात्रै मासिक १०० ट्रकभन्दा बढी बाँस ढुवानी गरिँदै आएको छ । अहिले किसानले व्यावसायिक रुपमा बाँसको उत्पादन गर्न थालेका छन् । भूक्षय रोक्नका लागि समेत खाली जग्गामा बाँस रोप्ने गरिएको छ । रासस