धरान/नाइजेरियामा अज्ञात रोगका कारण ५० जनाको मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको छ ।  शुरुमा पखाला, रगतसहित वान्ता, उच्च ज्वरो जस्ता लक्षणका कारण विरामी पर्ने यसै समस्याका कारण विरामीमा अत्यन्त कमजोरी देखिने र दुई चार दिनभित्र ज्यानै गुमाउने समस्याले विगत तीन हप्तामा ५० जनाको मृत्यु भएको छ ।

शुक्रबारसम्म रोगका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको द गार्जियन दैनिकले जनाएको छ ।  शुरुमा कोगी राज्यको पश्चिमी क्षेत्रका तीन गाउँमा एक बालकमा उक्त समस्या देखिएको र रोगका कारण गत साता उसको मृत्यु भएको थियो । सो गाउँमा पुगेको चिकित्सकसहितको स्वास्थ्य टोलीले गाउँमा पुगेर नमूना ल्यावमा पठाएको थियो ।

नमूना परीक्षणबाट गाउँमा अफ्रिकी मुलुकमा देखापर्ने गरेको लास्सा ज्वरो वा रक्तस्रावसम्वन्धी समस्या नभेटिएको बताउँदै उक्त रोग नयाँ प्रकृतिको भएको बताइएको छ ।  यस बिषयमा प्रभावित क्षेत्रमा पुगेका मेडिकल कन्सल्टेन्ट जेनेटे हाथोर्नले बिहीबार सञ्चारकर्मीसँग भने, “समस्या लास्सा ज्वरोका कारण भएको नभएको तर साच्चै के समस्या हो भन्नेमा हामीलाई थाहा हुन सकेको छैन ।

हामी अझै अन्तिम निष्कर्षमा पुग्न सकेका छैनौ ।”  विश्व स्वास्थ्य सङ्गठनका प्रभावित क्षेत्रमा उपलव्ध प्रतिनिधिले विरामीबाट नमूना सङ्कलन गरी थप परीक्षणका लागि पठाएकाले रिपोर्टपछि मात्र रोग पत्ता लाग्ने बताए ।  कोगी राज्यका स्वास्थ्य प्रमुख साका आउदुले गाउँको अवस्था ‘गम्भीर’ भएको बताउनुभयो । सरकारले यसबारे पूर्ण जिम्मेवारी लिँदै अवस्थालाई छिट्टै नियन्त्रणमा ल्याइने बताउनुभयो । उहाँले रोगको छिट्टै निधान हुने बताए ।