बिराटनगर /वर्षा र बाढीका कारण विस्थापित भएकाहरु स्थिति समान्य वन्दै गएपछि घर फर्किने क्रम शुरु भएको छ । विराटनगर महानगरपालिकाले पत्रकार सम्मेलनगरी १२ हजार विस्थापित मध्ये ५ हजार विस्थापित परिवार घर फर्किएको जनाएको छ ।

महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी बाढी र वर्षा रोकिएसँगै पक्की घर भएका विस्थापितहरु घर फर्कन थालेको जनाएको छ । मेयर भिम पराजुलीले बाढी र डुबानले क्षतिग्रस्त बनेका घरविहीन भएका करिब ८ हजार बाढी र डुबान पीडित अहिले पनि विभिन्न विद्यालय तथा शिविरहरुमा रहेको जानकारी दिए ।

गएको शनिवार र आइतबार आएको भिषण बाढीका कारण बिराटनगर महानगरपालिकाका १२ वटै वडाबाट करिव १२ हजार विस्थापित भए । उनीहरुलाई विभिन्न ५८ वटा शिविरमा राखियो । घरबार विहीन भएका पीडितहरुको पुनर्वासको व्यवस्थाका लागि महानगरपाकिालले उचित व्यवस्थापनका लागि पहल गर्ने समेत मेयर पराजुलीले बताए ।

त्यसैगरी महानगरपालिकाकाले बाढी पीडितहरुलाई १० लाख मूल्य बराबरको राहत वितरण गरेको छ । अन्य संघसंस्थाहरुले वितरण गरेको बाहेक महानगरपालिकाले बाढी पीडितहरुलाई १० लाख मूल्य बराबरको खाद्यान्न सामाग्री, लत्तकपडा, झुल, चामल, चिउरा, भुजा, चाउचाउ लगायका समान वितरण गरेको महानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले जानकारी दिए ।

बाढी र डुबानका कारण बिराटनगर महानगरपालिकामा ६ जनाको मृत्यु भएको बताइएको छ ।

निःशुल्क उपचारको व्यवस्था

महानगपालिकाले नगर क्षेत्रभित्र बाढी र डुबानबाट पीडितलाई विराटनगरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ । महानगरपालिकाको पहलमा सरकारी एवम् निजी अस्पतालले सो सुविधा प्रदान गर्ने भएका हुन् ।

महानगरपालिकाले बाढी पीडितका लागि कोशी अञ्चल अस्तपालसहित निजी अस्पतालमा उपचारको व्यवस्था गरेको जनाएको छ । एसोसियसन आफ प्राइभेट हेल्थ इन्सिच्युट आफ नेपाल (अफिन)को सहकार्यका विराटनगरका १८ वटा अस्पताल मार्फत बाढी र डुबान पीडितलाई निःशुल्क उपचार दिने व्यवस्था गरिएको हो ।

मेयर भिम पराजुलीले बाढी र डुबानका कारण पशु चौपायाको मृत्यु भएको भन्दै त्यसबाट उत्पन्न हुन सक्ने प्रकोप जन्य रोगको निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । पुराजुलीले भने, ‘भविष्यमा हुनसक्ने प्रकोपजन्य रोगको महामारी फैलिन सक्ने तर्फ हामी सचेत भएका छौं । त्यसका लागि तत्काल उपचारको व्यवस्था गरेका छौं ।’

अहिले बिराटनगरका बिभिन्न अस्पतालमा ज्वरो र झाडा पखालाका एक दर्जन बढी बाढी पीडितहरुले निःशुल्क उपचार गराइरहेका छन् ।त्यसैगरी विराटनगरका निजी स्वास्थ्य संस्थाको सकृयतामा नगरको १९ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ । विभिन्न शिविर मार्फत अहिलेसम्म १६ सय ९१ जनाको उपचार गरिएको छ ।

अफिनका केन्द्रीय उपाध्यक्ष डा. कैलाश श्रेष्ठले महानगरको आग्रह अनुसार नगर क्षेत्रमा रहेका निजी अस्पतालले बाढी पीडितको निःशुल्क उपचारको व्यवस्था शुरु गरिसकेको बताए । बिभिन्न स्वास्थ्य शिविर एवम् अस्पतालमा आएका विरामीको निःशुल्क उपचारको प्रवन्ध मिलाइएको डा. श्रेष्ठको भनाइ छ ।

अनलाइनखबरबाट