नायिका प्रियंका कार्की सिने क्षेत्रमा चम्किनुको रहस्य ।

नेपाली सिने क्षेत्र फराकिलो हुँदैछ । संख्यात्मक रुपमा फिल्म निर्माण हुने क्रम बढीरहेको छ । नायक, नायिकाको परिचय बनाउनेहरु पनि वर्षेनी बढ्दो छन् । परिचय बनाउनेमध्ये धेरै हराउँछन् थोरै चम्कीन्छन् ।

त्यीनै चम्कीने मध्येकी एक हुन् नायिका प्रियंका कार्की । नेपाली सिने क्षेत्र प्रवेश गरेको केहि वर्षमा नै उनको माग ह्वात्तै बढेको छ । गतिला ब्यानरबाट अभिनयको प्रस्ताव आईरहेका छन् ।उनले अभिनय गरेको चलचित्र वडा नम्बर ६ असोज १ गतेदेखि प्रर्दशनमा आउँदैछ ।

हाँस्यकलाकारहरुले निर्माण भएको वडा नम्बर ६ पनि प्रीयंकाको सफल चलचित्रमा दर्ज हुने सम्भावना बलीयो छ । यस अघि वडा नम्बर ६ टोलीले नै निर्माण गरेको चलचित्र छ एकान छ ले दर्शकको गतिलो माया पाएको थियो । प्रियंका कार्की भने चलचित्र झोलेबाट  चम्कीएकी हुन् । झोलेपछि नाई नभन्नु ल २ ले उनलाई अर्को सफलता दिलायो । उनको अर्को प्रतिक्षित चलचित्र वडा नम्बर ६ प्रर्दशनमा नआउँदै उनी नाई नभन्नु ल ४ को छाँयाकनमा व्यस्त छिन् । सफल ब्यानरहरुले प्रियंकालाई विश्वास गर्नु नै अहिलेको उनको सफलता हो ।

प्रियंकाको दक्षता र आत्माविश्वास नै सफलता प्रमुख हतियार हो । दक्षताका लागि उनले साढे पाँच वर्ष फिल्म पढ्न खर्चेकी छिन् । अमेरिका पुगेर सिने क्षेत्रको ज्ञान लिएर उनी नेपाल फर्किएकी हुन् । पढेर बुझेर र सम्भावना देखेर उनी नेपाल आईन् । अवसर पाईन्, सिकेको कुरा लागु गरिन् । पहिलो फिल्म मेरो बेस्ट फ्रेण्डले भनेजस्तो सफलता पाएन । त्यसपछि चलचित्र थ्री लभर्समा देखिईन् । थ्री लभर्सबाट उनी दर्शकको आँखामा पर्न सकिनन् । असफलताले उनलाई निराश बनाएन ।

चलचित्र झोलेमा अर्को अवसर प्राप्त भयो प्रियंकालाई । झोलेमा उनले गरेको अभिनयले प्रशंसा पायो । उनको चर्चा अझै चुल्याई दियो चलचित्र नाई नभन्नु ल २ ले । नाई नभन्नु ल २ बाट उनले थुप्रै सम्मान पनि पाईन् ।दक्षता भएकाले चलचित्रको असफलताले उनलाई कमजोर बनाउन सकेन । त्यसमाथि थियो परिवारको समर्थन । अमेरिकाको ग्रीन कार्ड त्यागेर आफ्नो रुची पुरा गर्न आएकी छोरीलाई परिवारले सधै आँट र भरोसा दियो । आत्माविश्वास बढाउनका लागि परिवारको साथ चाहिने उनी बताउँछीन् ।

नेपाली समाजमा सिने क्षेत्रमा प्रवेश गर्न चाहाने छोरीको मनोबल गिराउने काम बढी हुन्छ, त्यसैले राम्रो गर्न सक्दैनन्, उनी भन्छिन् । राम्रोसँग सिकेर र बुझेर आए सिने क्षेत्रले नाम र दाम दुबै दिन सक्ने उनको जिकिर छ । पैसा हुँदैनथ्यो भने म अमेरिका छाडेर किन यहाँ बस्थे ? उनी प्रतिप्रश्न गर्छिन ।नेपाली सिने क्षेत्र प्रवेश गर्न सजिलो छ । लोकप्रीय बन्न गाह्रो छ ।

 चिनजानको भरमा सिने क्षेत्रमा प्रवेश गरेर बिचल्लीमा पर्नेहरु पनि थुप्रै छन् । सिने क्षेत्रको आर्कषणका कारण एउटा फिल्ममा जसो तसो अभिनय गर्ने अवसरको खोजीमा हुनेहरु कम छैनन् । यस्तो अवसरको पखाईमा रहेकाहरु नायक र नायिक बन्न जस्तो सुकै मुल्य चुकाउन पछि पर्दैनन् । फलस्वरुप सिने क्षेत्र विकृत हुँदै जान्छ ।

एउटा फिल्ममा देखिएपछि जुनसुकै पृष्ठभुमिबाट आएपनि उ सार्वजनिक व्यक्तित्व बन्छ । त्यसपछि न पुरानो पेशामा फर्कन सक्छ, न त फिल्महरु नै पाउँछ । यस्तो समस्या भोग्नेहरु बढ्दै जानु सिने क्षेत्रको दुर्भाग्य हो ।प्रियंकासँग सिप, आत्माविश्वास र दक्षतामात्र होईन सबैसँग सम्बन्ध राम्रो राख्ने कला छ । उनी भन्छिन्, सबैसँग राम्रो सम्बन्ध राख्न सक्नुपर्छ, दक्षतासँग घमण्ड पलायो भने अघि बढ्न सकिन्न । त्यसैले फिल्म खेल्ने अवसर दिनेसँग सम्बन्ध राम्रो राख्ने मेरो प्रयास सदैव रहन्छ ।

विकास आचार्यसँग राम्रो सम्बन्ध भएकाले अर्को फिल्ममा पनि सम्झनु भयो । उत्साहित हुँदै उनी थप्छीन्, त्यसैले सम्झने बाटो भने राख्न जान्नु पर्छ । दक्षता, आत्माविश्वाससँगै यस्ता कला हुने हो भने नेपाली सिने क्षेत्र प्रवेश गर्न चाहानेको भविष्य उज्वल हुने उनको भनाई छ । त्यसैले सिकेर बुझेर सिने क्षेत्रको प्रवेश गर्नु बुद्धिमानी हुने सबैलाई उनी सुझाउँछीन् । उनको जस्तै कला र दक्षता भएका अन्य नायिकाहरु पनि हिंसा र विभेद बिना नै सिने क्षेत्रमा प्रभाव बढाईरहेका छन् ।