नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘क्लासिक’ गएको बर्ष प्रदर्शनमा आएको थियो । दर्शकहरुले खुबै रुचाइएको यो चलचित्रबाट आर्यनले यस बर्ष केही अवार्डहरु पनि आफ्नो पोल्टामा पारे । ‘क्लासिक’ पछि उनको ‘होमवर्क’ नामक चलचित्र हलमा लाग्यो । यो चलचित्र हलमा लागेको र उत्रिएको समेत दर्शकहरुलाई पत्तो भएन ।

यो चलचित्रपछि भने दर्शकहरुले आर्यन अभिनित कुनै पनि चलचित्र हेर्न पाएका छैनन् । कुनै दिन हप्ता ननाघ्दै चलचित्रहरु हलमा लाग्ने आर्यनका एक बर्षदेखी कुनै पनि चलचित्र प्रदर्शनमा नआउनु आफैमा आश्चर्यलाग्दो कुरा हो । १ बर्षसम्म आर्यनका कुनै पनि चलचित्र हलमा नलाग्दा नेपाली गसिप बजारमा यतिसम्मको हल्ला चल्यो कि, ‘निर्माताहरुले आर्यनलाई पत्याएनन् ।’ यसै बखत फेरी एउटा खबर बाहिरिएको थियो आर्यन अब आफ्नो होम प्रोडक्शन बाहेकको चलचित्रमा काम गर्ने छैनन् ।

तर, चलचित्र ‘क्लासिक’ रिलिज भएको १ बर्षपछि नायक आर्यन सिग्देलले आफ्नो प्रोडक्शन हाउसभन्दा बाहिरको चलचित्र साइन गरेको खबर बाहिर आएको छ । प्राप्त जानकारी अनुसार, अहिले आर्यनले चलचित्र ‘ईण्डलेस लभ’ को स्क्रिप्ट अध्ययन गरिरहेका छन् र उनले यो चलचित्रमा काम गर्ने लगभग पक्का भइसकेको बताइएको छ ।

छायाँकन अगावै यो चलचित्रको भ्यालेन्टाइन डेलाई लक्षित गर्दै निर्माणपक्षले ‘आई एम इन लभ’ बोलको गीत सार्वजनिक गरेको थियो । यो गीतले अहिले नेपाली बजार पिटिरहेको छ । यसअघि ‘पुनर्जन्म’ चलचित्र निर्देशन गरेका सजन श्रेष्ठले यो चलचित्र निर्देशन गर्न लागेका हुन् । ‘पुनर्जन्म’ मा पनि सजनले आर्यनलाई मुख्य भूमिकामा उभ्याएर चलचित्र तयार पारेका थिए । सजनले आर्यनसँगको एक तश्वीर आफ्नो फेसबुक एकाण्उटमा शेयर गरेका छन् । तश्वीरमा आर्यनको हातमा स्क्रिप्ट देख्न सकिन्छ ।

सजनले आर्यनसँगको तश्वीर पोष्ट गरेपनि चलचित्रमा आर्यन हुने वा नहुने भन्ने विषयमा आधिकारीक जानकारी भने दिएका छैनन् । यो चलचित्रका लागि अहिलेसम्म कुनै पनि कलाकार फाइनल भएका छैनन् । यशराज ढकालको लगानीमा निर्माण भएको यो चलचित्रमा ढकाल स्वयमकै लेखन रहेको छ ।