बहु प्रतिच्छित नेपाली चलचित्र ‘लुट २’को आइटम गीत ‘ठमेल बजार’ एक करोड भन्दा बढि पटक हेरिएको छ । इन्टरनेटको दुनियामा दश मिलियन (एक करोड) भ्यूज प्राप्त हुनु सामान्य कुरा रहेतापनि नेपालको जनसंख्याको आधारमा भन्ने हो भने यो आँकडा निकै सफल हो ।नेपाली भाषाका भिडियो सामग्रीहरु बिश्वव्यापी नभएपनि संसारभर रहने नेपालीहरुको इन्टरनेट सक्रियताको आधारमा दश मिलियन पटक हेरिनु निकै उत्साहपूर्ण सफलता हो ।

अक्टुबर २१, २०१७ मा युट्युवमा अपलोड भएको उक्त गीतले मंगलबार १ करोड बढि ‘भ्युअर्स’को किर्तिमानी कायम गरेको हो । नेपालमा हालसम्म सर्वाधिक हेरिएका गीतमा ‘ठमेल बजार’ तीन नम्बरमा परेको छ । यसअघि ‘वडा नम्बर ६’ फिल्मको सुर्के थैली र ‘छक्का पञ्जा’को पुर्व पश्चिम रेल गीतले पनि करोड माथी भ्यूज पाईसकेका छन् ।

‘ठमेल बजार’ गीतमा संगीत तथा शब्द कालिप्रसाद बाँस्कोटाको छ भने स्वरमा बाँस्कोटालाई मीना निरौंलाले साथ दिएकी छिन् ।निश्चल बस्नेत निर्देशित ‘लुट २’ स्टारकास्टले भरिपुर्ण चलचित्र हो । हालसम्मको अनुमानमा नेपाली चलचित्र इतिहासमा नै सर्वाधिक ओपनिङ् गर्न सक्ने चलचित्रको रुपमा यो चलचित्रलाई हेरिएको छ ।

माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, कर्मा शाक्य, सुशिल पाण्डे लगायत लिड अभिनयमा छन् । यो शुक्रबार यो चलचित्र रिलिज हुँदैछ ।