Kp Oli 1काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताएका छन् । एमालेसहित विपक्षी नौ दलले शुक्रबार यहाँ आयोजना गरेको जनसभामा नेता ओलीले तराई र पहाडका जिल्लालाई आपसमा अलग गर्ने गरी ल्याइएको संशोधन संविधानविपरीत हुने सर्वाेच्च अदालतको पैmसलाले स्पष्ट गरिसकेको जिकीर गरे ।

उनले सत्तारुढ दलले यसलाई अघि बढाउन खोज्नु मुलुकमा निर्वाचन नगराउनु र संवैधानिक रिक्तता ल्याउने प्रयास हुनु हो भन्ने आरोप लगाए । ‘संविधानबमोजिम २०७४ साल माघ ७ गतेभित्र तीनै तहका निर्वाचन गरिसक्नुपर्छ तर यो सरकार के गर्दैछ ? निर्वाचन गराउन खोज्दै छ ?’, प्रदर्शनी मार्गमा सभामा पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘सरकार अनुचित उद्देश्य पूरा गर्न, कसैको आदेश तामेली गर्न र आयु लम्ब्याउन खोज्दैछ ।’उनले जुवा खेल्दा तास वा कौडा मात्र नसकिएर हार्नेको श्रीसम्पत्ति नै गुम्ने भएभैmँ अहिलेको संशोधनबाट पनि राष्ट्रियता सङ्कटमा पर्ने तर्क गर्दै नेपालका राष्ट्रभाषालाई समाप्त पार्ने र हिन्दी भाषालाई स्थापित गराउने खतरा पनि रहेको औल्याए । संशोधन प्रस्तावबारे प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच परामर्श भएको र प्रधानन्यायाधीशले अघि बढ्न सुझाव दिएका जस्ता प्रचार सरकार पक्षबाट गराइनु गैरजिम्मेवार भएको उनको भनाइ थियो । यो जनप्रदर्शनबाट राजधानी जागेको जिकीर गर्दै अध्यक्ष ओलीले अब फागुनको दोस्रो साता तराई–मधेश र मेची–महाकाली जागरण अभियान सञ्चालन गरिने जानकारी दिए ।

उनले भने, ‘नेपाली विगतमा पनि कसैसँग झुकेन, हाम्रो स्वाधीनता जिउँदो छ ।’ एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहित नौ दलका शीर्ष नेता सहभागी सभामा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले मुलुकलाई संविधान नभई संविधान कार्यान्वयन र तीन तहको निर्वाचन आवश्यक भएको बताइन् । सो पार्टीका महासचिव ईश्वर पोखरेलले देशलाई घात हुने कुनै पनि प्रस्ताव पारित हुन नदिई आपूmहरु संविधान कार्यान्वयनका लागि दृढताका साथ उभिने बताए ।कार्यक्रममा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न विपक्षी साना राजनीतिक दलका नेताले पनि संविधान संशोधन विधेयक फिर्ता गर्न माग गरेका थिए । जनसभालाई सम्बोधन गर्दै उनीहरूले संविधान संशोधन विधेयक राष्ट्रहितको पक्षमा नभएको जनाउँदै सरकारलाई प्रस्ताव फिर्ता माग गरे ।

कार्यक्रममा नेकपा (माले) का महासचिव सीपी मैनाली, राष्ट्रय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, राष्ट्रिय बहुजन पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय नेपाः पार्टीका नेता एवम् सांसद् लक्ष्मण राजवंशी, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक) का शिवलाल थापालगायतले संशोधन प्रस्ताव जनविरोधी भएको जनाउँदै त्यसलाई फिर्ता लिनुपर्ने माग गरेका थिए । सभा हुनुभन्दा अगाडि विभिन्न ठाउँबाट झाँकीसहित पदयात्रा निकालिएको थियो । पदयात्रामा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता खनाल र नेता नेपाल, मालेका महासचिव मैनाली, जनमोर्चाका अध्यक्ष केसीलगायत सहभागी थिए ।