dktधनकुटा/धनकुटालाई साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा राज्यमन्त्री धनमाया विश्वकर्माले बिहीबार औपचारिक रुपमा यो घोषणा गरेकी हुन् । धनकुटामा ९७ दशमलव २५ प्रतिशत मानिसले लेखपढ गर्न सक्ने भएकाले जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । सो अवसरमा राज्यमन्त्री विकले व्यावहारिक शिक्षा आजको आवश्यकता रहेकोले यसतर्पm आप्mनो मन्त्रालयले विशेष नीति अघि सार्ने बताइन् ।

जिल्लाका २८ गाविसमध्ये अधिकांश गाविसलाई यसअघि नै साक्षर घोषणा गरिसकिएको जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले बताए । २०६८ सालको जनगणनाअनुसार जिल्लामा १ लाख ६३ हजार जनसङ्ख्यामध्ये १५ देखि ६० वर्ष उमेरभित्रका ९५ हजार छन् । तीमध्ये ९२ हजारजनाले सामान्य लेखपढ गर्न सक्ने भएकाले जिल्ला साक्षर जिल्ला घोषणा गर्न योग्य रहेको जनाइएको छ ।

घोषणा कार्यक्रममा अनौपचारिक शिक्षा विकास समितिका संयोजक तथा स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले यो महत्वपूर्ण उपलब्धि भएको बताए । शिक्षा मन्त्रालय र अनौपचारिक शिक्षा केन्द्र समन्वय समिति तथा सर्वपक्षीय सहमतिबाट जिल्लालाई साक्षर घोषणा गर्न सफल भएको जिशिअ थापाले बताए । कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेल, पूर्वमन्त्री सुनिलबहादुर थापा, पूर्वसांसद् गोपाल गुरागाईं, क्षेत्रीय शिक्षा निर्देशक केशवप्रसाद दाहाललगायतले बोलेका थिए ।