up-sachibविराटनगर/ जिल्ला शिक्षा कार्यालय मोरङमा उपसचिवहरुको सङ्ख्या १३ जना पुगेपछि काम गर्न कठिनाइ भएको छ । शिक्षा मन्त्रालयले मन्त्रालय अन्तर्गतका उपसचिवहरुलाई कामको जिम्मेवारी बाँडफाँड नगरी जिल्लामा पठाउँदा काम गर्न अप्ठ्यारो भएको हो ।जिल्ला शिक्षा अधिकारी पनि उपसचिव तहकै हुने भएकाले उनलाई काम लगाउनसमेत गाह्रो भएको छ ।

मन्त्रालयले जिल्लामा पठाएका उपसचिवलाई कामको कुनै जिम्मेवारी समेत नतोकेपछि शिक्षा कार्यालयको अवस्था भद्रगोल भएको उपसचिव दिव्यराज कट्टेलले बताए । विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारी भइसकेका उपसचिवहरु कार्यालयमा हुँदा जिशिअलाई काम गर्नसमेत अप्ठ्यारो परेको छ ।कार्यालयमा उपसचिवका लागि भिन्दै कोठा र कुर्सीहरु नहुँदा कतिपय उपसचिव दिनभरी कार्यालयमा टहलिने, हाजिर गर्ने र चिया पसलमा चिया गफ गरेर दिन बिताउने गरेका छन् । एक उपसचिवले भने, ‘सरकारले कुनै निश्चित जिम्मेवारी नै दिएको छैन, कार्यालयमा पनि हामीले काम गर्ने कुनै दायित्व पनि छैन कसरी दिन काट्ने ?’

मोरङ जिल्लामा जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल छन् । कार्यालयमा हरिहर घिमिरे, ओमबहादुर कटुवाल, राजेन्द्र बुढाथोकी, दुर्गा खरेल, नीलमणि खनाल, गणेश अधिकारी, राजकुमार थापा, दिव्यराज कट्टेल, जय महत, रुद्र दुलाल, फणिन्द्र खत्री लगायत छन् । कार्यालयमा जिल्ला शिक्षा र अधिकृतहरु बाहेकको कुनै काम छैन । जिल्ला शिक्षा अधिकारीलाई सहयोग गर्न जिल्लामा दुईजना सहायक जिशिअ हुँदा पुग्ने अवस्था छ ।एघार जना अधिकृतको दरबन्दी भएकोमा हाल १३ जना अधिकृत छन् । तीनजना प्राविधिक सहायकको दरबन्दीमा चारजना कार्यरत् छन् भने प्रशासनतर्पm तीनजना नासु छन् ।

कार्यालय सहयोगी दुईजना रहेका छन् ।जिल्ला शिक्षा अधिकारी खनालले जिल्लामा भएका उपसचिवहरुको कामको विषयमा छलफल भइरहेको बताए । मोरङ जिल्लामा करीब २ हजार शैक्षिक संस्था छन् । पाँच सय ३९ वटा सरकारी विद्यालय, तीन सय ४४ वटा संस्थागत र एक हजार बालविकास केन्द्र तथा दर्ता समेत नभइ सञ्चालन भएका मन्टेश्वरी र ट्युसन सेन्टरसमेत छन् ।