पाँचकन्या/ धरान–५ स्थित प्रतिष्ठित व्यापारिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको २२ औं वार्षिकोत्सवमा अग्रज पत्रकारसहित दर्जन बढी सम्मानित भएका छन् । दुईजना अग्रज पत्रकारहरुलाई इन्द्र–बराह स्मृति पत्रकारिता सम्मान तथा एकजना पत्रकारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

ppp

ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्की र कान्तिपुर दैनिकका हर्ष सुब्बालाई इन्द–बराह स्मृति पत्रकारिता प्रदान गरियो भने लक्ष्मी दर्नाललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेजर दलबहादुर राई, बराहका अध्यक्ष शिव लामिछाने, धरान शाखा प्रमुख मानबहादुर विश्वकर्मा (दियाली), संस्थापक विष्णुमाया लामिछानेले उनीहरुलाई सम्मान गरेका हुन् । यस्तै, अभिभावकत्वको भूमिका निर्वाह गर्ने समाजसेवीहरु ङावालप्टु लामा शेर्पा, वसन्त सिटौला, भद्रसिंह राई, मानबहादुर विश्वकर्मालाई पनि विशेष सम्मानद्वारा सम्मानित गरियो । यस्तै, उत्कृष्ट कर्मचारी सम्मान र ग्राहकलाई पुरस्कृतसमेत गरिएको थियो । कार्यक्रममा बराह ज्वेलरीबाट सबैभन्दा बढी ज्वेलरी खरिद गर्ने ग्राहक दीपा राई र मुना देवानलाई स्वर्ण पदकसहित सम्मान गरियो । त्यस्तै आर्थिक वर्ष २०७२÷०७३ को असार मसान्तसम्म १० हजार रुपैयाँदेखि १ लाख ६० हजार रुपैयाँसम्मको खरिद गर्ने २९ सय ६० जना ग्राहकहरुलाई विभिन्न आर्कषक पुरस्कार प्रदान गरिएको थियो ।

उनीहरु मध्येबाटै गोला प्रथाद्वारा एकजना ग्राहकलाई सुजुकी कम्पनीको जिक्सर बाइक प्रदान गरिएको थियो । सो बाइक ९१४ नं. का वीरबहादुर लिम्बूले पाएका छन् ।कार्यक्रममा पहिलोपटक बराह ज्वेलरी शो आयोजना गरिएको थियो । जहाँ जातीय पहिरन झल्किने आधुनिक तथा परम्परागत गहना र खाद्य प्रदर्शनसमेत भएको थियो । यस्तै, भर्खर निर्माण सम्पन्न भएको बराह सपिङ कम्प्लेक्सकोसमेत उद्घाटन गरिएको थियो । वार्षिकोत्सवमा सदाझै रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । भानुचौक, जिरोपोइन्ट, रेल्वेचोक र पिण्डेश्वरचौकमा भएको रक्तदानमा ४ सय ७५ पिन्ट रगत सङ्कलन भएको प्रालिका प्रशासकीय अधिकृत गङ्गा कालिकोटेले जानकारी दिए । कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले बराह मूलतः एउटा व्यापारिक संस्था भएतापनि सामाजिक र सेवामूलक कार्यलाई निरन्तरता दिने बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै शाखा प्रमुख दियालीले बराहले धरानको आर्थिक, पर्यटन, शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, साङ्गीतिक सबै क्षेत्रको विकासमा भूमिका खेल्दै आएको बताए ।

२०५२ भाद्र ५ गते खुलेको बराहमा अहिले देशभर ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएको बताउँदै उनले ३ हजार जनाले अप्रत्यक्ष रोजगारी पाएको बताए । उनले बराहले उत्पादनमूलक कार्यमासमेत हात हालेको जानकारी दिए । उनले यसै वर्ष चितवनमा शाखा सञ्चालन र चाँडै दुबईमा पनि शाखा विस्तार गरिने जनाउँदै यसैवर्षबाट व्यवसायिक कृषिलाई अघि बढाउँने योजना अनुरुप मोरङको तेतरियामा १ करोड ५० लाख बराबरको गाई, माछा फर्म सञ्चालन गरेको बताए । यस्ता विविध कार्यमा हात हाल्दै आउँदा पनि राज्यको नीति नहुँदा समस्या भएको उनले बताए । ‘हामीले वर्षेनी राज्यलाई कर बुझाएका छौं, स्पष्ट नीति नियम छैन’, यसतर्फ सरकार गम्भीर बन्नुपर्छ ।