ताप्लेजुङ /ताप्लेजुङको घुन्सामा श्री एयरलाईन्सको हेलिकोप्टर दुर्घटना भएको आज दश वर्ष पुगेको छ । २०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी डा. हर्क गुरुङ लगायतका संरक्षणविद्हरुको दुखःद निधन भएको थियो । उक्त दुर्घटनाको सम्झनामा आज ताप्लेजुङ सदरमुकाम, दुर्घटना भएको स्थान घुन्सा लगायत देशभर स्मृति कार्यक्रमहरु गरिँदैछ । दुर्घटनामा तत्कालीन वन तथा भु–संरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमति मीना राई, भुगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डाक्टर चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मि लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।

heli

विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला बाक्लो हुस्सुमा परी घुन्साको फले स्थित धुन्चे पहाडमा ठोकिएर हेलिकोप्टर दुर्घटना भएको थियो । घटनास्थल ताप्लेजुङ सदरमुकामदेखि अढाइ दिनको पैदल दुरिमा पर्छ । सरकारले घटना लगत्तै पुनरावेदन अदालत पाटनका तात्कालिन मुख्य न्यायधिस जनकेशरीराज पण्डितको संयोजकत्वमा घटना बारे अध्ययन गर्न गठित कार्यदलले प्राकृतिक अवस्थाकै कारण दुर्घटना भएको प्रतिवेदन बाहिर ल्याए पनि स्थानीय बासिन्दा र सरकोरवाला अन्य पक्ष भने गहिरो अध्ययन नभएको बताउने गरेका छन् ।

राष्ट्रिय संरक्षण दिवस मनाइदै यसैविच हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको योगदानको स्मरण गर्दै आज राष्ट्रिय संरक्षण दिवस मनाईदै छ । विसं २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुम्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो । दिवसको अवसर पार्दै राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थितिमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) लगायत विभिन्न आठ संस्थाको सहआयोजनामा बन तथा भु संरक्षण मन्त्रालयले काठमाडौमा पुरस्कार वितरण लगायत विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा राष्ट्रपति भण्डारीले डब्लु. डब्लु. एफद्धारा स्थापित विभिन्न छात्रबृत्ति वितरण गर्ने कार्यक्रम रहेकाृ छ भने अब्राहम संरक्षण पुरस्कार, म्याथु प्रिस तथा येसी छोदेन लामा युवा संरक्षण नेतृत्व पुरस्कार, र डब्लु. डब्लु. एफ. संरक्षणमा सञ्चार पुरस्कार पनि आजै वितरण गर्ने तयारी भएको आयोजकले बताएको छ । कार्याक्रमा वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको पनि उपस्थिती रहने बताईएको छ । दिवसकै अवसरमा पंक्षी संरक्षण संघ नेपालद्वारा स्थापित जटायु छात्रवृत्ति, डब्लु. डब्लु. एफ.बाट स्थापित नेपाल संरक्षण स्मृति छात्रवृत्ति विभिन्न व्यक्तिलाई प्रदान गर्ने आयोजकले जनाएको छ । यता दिवसको अवसरमा ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङले विहान तोक्मेबजार देखि सुकेटार विमानस्थल सम्मको पदमार्ग सरसफाई र वृक्षारोपणको आयोजना गरेको छ भने घुन्सा दुर्घटनामा दिवंगत संरक्षण विदहरुको सालिकमा माल्याणपर्ण र दिप प्रज्वलन गर्ने संस्थाका अध्यक्ष कुमार सिवाले बताए ।