काठमाडौँ/गणित विषयमा विशेषज्ञता हासिल गरेका बुद्धिजीवीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी गणित शिक्षालाई सरकारी प्राथमिकतामा राख्न आग्रह गरेको छ । प्राडा राममान श्रेष्ठको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार गएको विज्ञको टोलीले देशभरीका गणितिज्ञलाई अभिनन्दन गर्ने तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । भेटमा प्रधानमन्त्रीले विज्ञानले विकासलाई सुनिश्चित गर्न सक्ने बताउँदै त्यसतर्फ राज्यको ध्यान दिने बताएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । भेटका क्रममा प्रधानमन्त्रीले भने– “विज्ञानले मात्रै विकासलाई सुनिश्चित गर्न सक्छ । गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्छ । गणित शिक्षामा ५० वर्ष अनवरत् सेवा गरेका र ७५ वर्ष उमेर पार गरेका गणित शिक्षक र अन्वेषकलाई सम्मान गर्ने संस्थाको योजना रहेको प्राडा श्रेष्ठले जानकारी दिए। टोलीमा नेपाल गणित केन्द्र, नेपाल गणित समाज, गणित शिक्षा परिषद् र गणित शिक्षा महिला समाजका प्रतिनिधिहरु सहभागी थिए । रासस