रत्ननगर (चितवन)/शिक्षाको ज्योति छर्न स्थापना भएको पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयोभन्दा अचम्म मान्नुहोला तर पूर्ण साक्षर घोषणा भएको चितवनमा यस्तै भएको छ । चितवनको शिक्षित समाज बस्ने भनेर चिनिएको जिल्लासदरमुकाम भरतपुरको चौविसकोठीबाट करिब दुई किलोमिटर पश्चिम क्षेत्र लंकु धर्मचोकमा स्थापना भएको ‘ज्ञान ज्योति पुस्तकालय’ हार्डवेयर गोदाममा परिणत भएको हो । ज्ञानको ज्योति फैलाउने भनेर नाम राखिएको सो पुस्तकालयमा अहिले रड सिमेन्ट, घर निर्माणका लागि चाहिने डोरी तथा अन्य सामग्री राखिएको छ । सँगै जोडिएको धर्मचोक हार्डवेयरले यहाँ सामान राख्ने गोदाम बनाएको हो । “पुस्तकालय नचलेकाले जीर्ण भयो, चुहिने भएकाले आफूले ट्रष्ट हालेर सदुपयोग गरी गोदाम बनाएको हार्डवेयरका सञ्चालक भीम खरेल बताउछन् । तीन कोठामध्ये पहिलोमा सिमेन्ट, दोस्रोमा डोरीलगायतका अन्य सामग्री र तेस्रोमा पुस्तकालयका जीर्ण दुई वटा दराज र फर्निचर तथा अन्य हार्डवेयरका केही सामग्री छन् । केही सामग्री निकालिएको छ । प्यासेज र आँगन तथा सिँढी रडले भरिएको छ । खरेलका अनुसार मौखिक सहमतिमा आफूले भाडामा लिएको यो पुस्तकालयको भवन एक दशकदेखि नचलेको जानकारी दिए । नवज्योति युवा क्लबले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट १२ धुर जग्गामा सो पुस्तकालय भवन निर्माण गरिएको थियो । ज्ञानज्योति पुस्तकालयका उपाध्यक्ष उपेन्द्र सापकोटाका अनुसार २०३८ सालमा बनेको सो पुस्तकालय २०६३ सालसम्म पनि चलेकै थियो । अनि पुस्तकालयको बेहाल भयो । “कोही कता, कोही विदेश गए, अनि बन्द नै भयो, त्यसपछि सिमेन्ट पसलवालाले राखेको छ” उपाध्यक्ष सापकोटा भन्छन्,– “अब पुनःदर्ता गरेर चलाउने तयारीमा लागेका छौँ ।” पुस्तकालयका अध्यक्ष ईश्वरी कँडेल गाउँमै निस्क्रिय मान्छे भनेर चिनिएका छन् । पुस्तकालयका विषयमा कुरा गर्न खोज्दा उनको फोन उठेन । स्थानीय युवा भोजराज कँडेल गाउँको एउटा शोभाको रुपमा रहेको पुस्तकालय बन्द भएर हार्डवेयर गोदाम हुनु दुःखद् भएको बताउछन् । यसलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन उनले माग गरे । शिक्षा दिवसको अवसरमा आज र भोलि चितवनमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य पनि उक्त पुस्तकालयको बारेमा अनभिज्ञ छन् । सो पुस्तकालयको बारेमा प्रश्न राख्दा उनले भने, “त्यस्तो त थाहा छैन, तर जिल्लाका पुस्तकालय व्यवस्थित भने भएको पाइएको छैन ।” उहाँले समुदाय कति सचेत छन भन्नेकुरा पुस्तकालयमा भर पर्ने बताए। विद्यालयका विद्यार्थीलाई समेत पुस्तकालयप्रति आकर्षित गराउन सरकारले विभिन्न कार्यक्रम र अनुदान समेत दिएको छ । चितवनमा पनि विद्यालयका पुस्तकालयलाई अनुदान दिएको उनले बताए । रामेश्वर पुस्तकालय, झुवानी सामुदायिक पुस्तकालय, रत्ननगरको रोटरी लाइब्रेरी, माडीको गर्दी, भरतपुरको दोभान सामुदायिक पुस्तकालय यहाँको नाम चलेका पुस्तकालय हुन् । स्कुलमा अहिले इन्टरनेट प्रविधिसहितको इ लाइब्रेरी सञ्चालनलाई तीव्रता दिइएका बेला पुस्तकालयको अवस्था भने जीर्ण हुनु दुःखद् भएको शिक्षाका जानकार बताउँछन् । रासस