काठमाडौँ/शिक्षामन्त्री धनीराम पौडेलले सरकार परिवर्तन भए पनि शिक्षाका नीति र प्राथमिकता परिवर्तन नहुने बताएका छन् । dhaniram राष्ट्रिय शिक्षा दिवसको पूर्व सन्ध्यामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सातौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारपिच्छे शिक्षाका नीति र प्रणाली परिवर्तन गर्दा लगानीअनुसारको प्रतिफल र संविधानले व्यवस्था गरेका मौलिक हक पूर्ण कार्यान्वयन हुन नसकेको बताए । मन्त्री पौडेलले अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका पालाका अघि सारिएका १८ बुँदे शैक्षिक सुधारका प्रतिबद्धताबमोजिम राष्ट्रिय शिक्षा आयोग गठन हुने र शिक्षा ऐन संशोधन कार्यान्वयनमा जाने जानकारी दिए। मन्त्री पौडेलले शिक्षाको मौलिक हक कार्यान्वयन गर्नु र शिक्षाका लगानी बढाउनु राज्यको दायित्व भएको पनि उल्लेख गरे । नेकपा (एमाले) का सांसद रवीन्द्र अधिकारीले शिक्षा र विकासलाई सँगै अघि बढाउनुपर्ने तथा औद्योगिक विकास मात्र नभई सामाजिक विकास र रुपान्तरणका लागि नागरिक क्षेत्रले काम गर्नुपर्ने बताए । शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले शिक्षा ऐन संशोधनले संविधानको पूर्ण मर्म बोक्न नसकेको भन्दै स्थानीय तहमा दिइएको शिक्षाको अधिकारको कार्यान्वयनको व्याख्या हुने गरी कानुन आउनुपर्ने बताए । नेपाल शिक्षक महासङ्घका अध्यक्ष केशव निरौलाले शिक्षकसँग सहकार्य गरेर मात्र शिक्षामा रुपान्तरण हुन सक्ने बताए । दुई दिनसम्म चल्ने सभामा महिला, दलित, सीमान्तकृत र शिक्षाका विषयमा कार्यपत्रसहित छलफल हुनेछ भने संस्थाको नयाँ नेतृत्व पनि चयन हुनेछ । सम्मेलनमा मुलुकभरका करिब ९० जनाको सहभागिता रहेको अध्यक्ष राजकुमार गन्धर्वले जानकारी दिए । यस वर्षको शिक्षा दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ छ । रासस