भद्रपुर/ निर्माण कम्पनीले खोलामा पुल बनाउने ठेक्का लिएको पाँच बर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन । pul पुल नबनेका कारण यहाँका हजारौ स्थानीय आवतजावत गर्नवाट बन्चित बनेका छन् । समयमा पुल नबनाएका कारण वर्षाको समयमा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको स्थानीयकोे भनाई छ । झापाको भद्रपुर नगरपालिका १५ र हल्दीवारी गाविस १ को विचमा पर्ने देउनिया नदीमा लामो समयसम्म पुल निर्माण नभएको समस्याले सो क्षेत्रका जनता सदरमुकाम आउनवाट बन्चित बनेका छन् । हल्दीवारी १,३,७,९ र जलथल साथै राजगढ गाविस लगायतका वडाहरुलाई मध्यनजर गरी २०६८ सालमा नेपाल सरकारले सडक विभाग अन्तरगत देउनिया खोलामा पुल निर्माणका लागि बजेट निकासा गरेको थियो । ०६८ साल असार २२ गते विशाल एण्ड विराट/अजम्बरी शिवराम कन्ट्रक्सन जेभी कम्पनी दोलखाले ठेक्का लिएको थियो । तीन वटा पिलर सहित ४० मिटर लम्बाई र ७ मिटर चौढाईमा निमार्ण हुने सो पुलका कम्पनीका ठेकेदार शिवराम सापकोटा र सुरेश भटटराईले सयुक्त रुपमा लिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । भ्याट सहित २ करोड १६ लाख १३ हजार १ सय ९८ रुपैयामा ठेक्का लिएको पुलको निर्माण अवधि दुई बर्षको हो । २०६८ असार २२ गते सम्झौता गरी २०७० असार २२ मा सम्पन्न गर्नु पर्ने शर्त रहेको सडक डिभीजन कार्यालय दमकका इन्जिनियर मदन सिहले बताए ।   कम्पनीले तोकेको समय अवधि समाप्त भई हालसम्म सडक डिभीजन दमकमा एक र सडक विभागमा दुई गरी तीन पटक सम्म म्याद थप गरिसकेको इन्जिनियर सिहले बताए । पुलको अन्तिम म्याद २०७३ कार्तिक २३ गते सम्म रहेपनि हाल सम्म निर्माण कार्य ६५ प्रतिशत मात्र सम्पन्न भएको उनले बताए । १ करोड १३ लाख ८५ हजार ९ सय रुपैया भुत्तानी लगेर पनि समयमा काम नसकेकोले सडकको नियमवाली अनुसार कम्पनीलाई २०७३ साउनदेखि कुल बजेटको ०.५ प्रतिशतको दरले प्रतिदिन जरिवाना काटदै आएको उनको भनाई छ ।   पुलको समस्याले नजिकै रहेको भद्रपुर बजार छोडेर ३० किलोमिटर टाढा विर्तामोड पुग्नु पर्ने समस्या देखिएकोे कमल राईले बताए । पुल समयमा नवनेका कारण स्थानीय सवै सेवा सुविधावाट बन्चित हुनु परेको राइको भनाई छ ।   पुल निर्माण कार्य ढिलासुस्तीको मुख्य दोषी ठेकदार कम्पनी सहित स्थानीय प्रशासन, सडक डिभीजनका कर्मचारी भएको स्थानीय लक्ष्मण कट्टेलले बताए । खोलामा समयमा पुल नबन्दा अहिले बर्खामा सदरमुकामको सरकारी कार्यालयहरुमा बिशेष काम लिएर जाने स्थानीय खोला तैरिदा जोखिम पूर्ण यात्रा गर्नु परेको उनको भनाई छ ।   स्थानीय जनताले पटक पटक झापाको प्रशासनलाई पुल निर्माण गराउन दवाव दिएपछि प्रशासनले पत्र काटेर ठेकेदारलाई झिकाएको थियो । वर्षायाम सुरु अगावै कम्पनीले निर्माण कार्यलाई निरन्तरता दिएपनि पुलको एकतर्फी ढलाईमा मिटर तलमाथि भएको भन्दै सडकले इन्जिनियरले काम रोक्न लगाएको निर्माण कम्पनीका सञ्चालक यज्ञ बहादुर कटुवालले बताए ।   आउदो मंसिरसम्म निर्माण कार्य पुरा गरिने सञ्चालक कटुवालले जनाएका छन् । काम रोकिएलगतै वर्षा सुरु भएपछी निर्माण कार्य अलपत्रमा पारेर ठेकेदार वेपत्ता भएको अवस्थामा स्थानीयलाई आवतजावतमा केहि सजिलोको लागी गाविसले खोलामा फेरी सञ्चालनमा ल्याएको हल्दिबारी गाविस सचिव कुमुदचन्द्र झाले बताए ।