भद्रपुर/ झापाको ज्यामिरगढी–९ गोमन सारी निरौला डाँडामा रहेका तीनवटा टिनको घरमा एक सातायता लगातार आकाशबाट ढुङ्गा वर्षिन थालेको छ ।स्थानीय नरबहादुर बुढाथोकी, खड्गबहादुर निरौला र दीपक निरौलाको घरको छानोमाथि एक पाउदेखि आधा किलोसम्मका ढुङ्गा, इँटा, मसिना सिमेन्टका टुक्राहरु खस्ने गरेको तुलसा बुढाथोकीले बताइन् ।

dhunga

एक्कासी ढुङ्गा आएर बुधबार दिउँसो टाउकोमा लागेका कारण चोट लागेर मुखबाट रगत समेत आएको उनले बताइन् । यसैगरी १२ वर्षीया तारा निरौला पनि बिरामी परेकी छन् । उनलाई बर्बराउने, दौडिने लक्षण देखिएकोमा बिहीबार सामान्य भएको छिमेकी मञ्जु रायले बताइन् ।‘हामी बसिरहेको अवस्थामा एक्कासी छानोमाथि ढुङ्गा खस्छ’, रायले भनिन् ।

त्यस्ता वस्तुलाई छिमेकी, धामी लगायतले लैजाने गरेका छन् । पहिलो दिन साउन २३ गते नागपञ्चमीको दिन ढुङ्गा खसेको थियो भने भदौ २ गते जनै पूर्णिमाको दिनदेखि कुनै दिन बेलुका ६ देखि १० बजेसम्म र बिहीबार बिहान ८ देखि ११ बजेसम्म खसेकोे बुढाथोकीले बताइन् । घटनालाई हेर्न टाढा–टाढाबाट मानिस आउन थालेको उनले बताइन् ।घटना भएको स्थानमा निगरानीको लागि दुई प्रहरी परिचालन गरिएको सतिघट्टा चौकीका सई ओमनारायण चौधरीले बताए । स्थानीय बुढापाकाले भूतप्रेतले दुःख दिएको बताएका छन् ।