धरान/ स्थानीय भवन निर्माण संहिताले लागू गरेको ‘एम–२० ग्रेड’ मापदण्डलाई धरानका अधिकाङ्श घरधनीले उल्लङ्घन गर्ने गरेको पाइएको छ । घरनक्सा पास गर्दादेखि नै घरधनीहरुले कङ्क्रिटको ग्रेड ‘२० किलो न्युटन पर एमएम’ मापदण्डलाई उल्लङ्घन गर्ने गरेका हुन् । अहिले पनि धरानका अधिकाङ्श घर एम–१५ ग्रेडको मापदण्डमै निर्माण हुने गरेका छन् । बालुवा, सिमेन्ट र गिट्टी प्रयोग गरेर ढलाइ गरेको २८ दिनको कङ्क्रिटको क्षमतालाई एम–२० भनिन्छ । जसमा सिमेन्ट एक भाग, बालुवा ढेड भाग र गिटी ३ भाग प्रयोग गरिनुपर्छ । एम १५ मा भने एक भाग सिमेन्ट, दुई भाग बालुवा र ४ भाग गिटी प्रयोग गरिने गरिन्छ । ‘अभैm पनि धरानको घरहरु एम–१५ मै बन्ने गरेको रिसर्चका क्रममा पाइयो’, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को भवन निर्माण संहिता कार्यान्वयन कार्यक्रमकी सिभिल इञ्जिनियर प्रियङ्का सिंहले बताइन् ।

RC-frame- इञ्जिनियर सिंहले धरानमा जेठ १० गतेदेखि हालसम्म गरी एस सय ३५ वटा घरनक्सा जाँच गर्न २४ वटा पारामिटरमा रहेर अध्ययन गर्दा एक सय १३ वटा घरनक्सा पास गर्ने घरधनीले एम–१५ मापदण्ड मात्रै लागू गरेको बताइन् । ‘सन् २००६ (२०६४) सालमा लागू गरेको मापदण्डमै अहिले पनि घर निर्माण भइरहेका रहेछन्’, उनी भन्छिन् ‘नियमै मिच्यो भन्न मिल्दैन तर, अहिलेको एम २० मापदण्ड शत्प्रतिशत लागू नभएको देखियो ।’ सरकारले २०७२ साल बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प आएपछि तत्कालै देशभरी एम–२० ग्रेडको मापदण्डमा घर निर्माण गर्नको लागि सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको थियो । स्थानीय भवन निर्माण संहिता लागू गर्ने तेस्रो उपमहानगरपालिका भएपनि कार्यान्वयन गर्ने पहिलो नगरपालिकामा धरान दरिन्छ । तर, नयाँ आएको मापदण्ड अनुसार भने अहिले पनि कार्यान्वयन हुन सकेको छैन । ‘कार्यान्वयनमा केही समस्या छन्’, धरान उपमहानगरका कार्यकारी अधिकृत टीकादत्त राई भन्छन्, ‘एम १५ मा कति खर्च आउने र एम २० को मापदण्डमा कति खर्च आउने भन्ने समस्या देखिन सक्छ ।’ धरानमा यति धेरै कडाइ गर्दागर्दैै पनि अभैm एम २० को मापदण्डमा लैजान नसकिएको अधिकृत राई समेत स्वीकार्छन् । उनका अनुसार भवन संहिताले केन्द्रीय स्तरबाट शहरी विकास अवधारणा गत चैतमै ल्याइसकेको छ । इञ्जिनियर सिंहले १० दिनअघि भएको वार्षिक समीक्षा गोष्ठीमै पनि एम २० को मापदण्डमा धरानका घरहरु नगएको बताएकी थिइन् । उनले २४ वटा पारामिटरमा आकारप्रकार, भारवहन क्षमता, डण्डीको लचकता र जोडाइ (कनेक्सन) लगायतलाई आधार मानेर अनुसन्धान गरेकी थिइन् । त्यही अनुसन्धान अनुसारनै धरानका घर निर्माणमा अहिले पनि पुरानै मापदण्ड लागू भइरहेको पुष्टी भएको थियो । अहिले सबैतिर एम–२० ग्रेड अनुसार नै लागू गर्न निर्देशन भएकाले पनि धरान उपमहानगर पनि कडाइका साथ लागू गर्ने पक्षमा रहेको योजना शाखाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले बताए । ‘ठेकेदार, इञ्जिनियर, सुपरभिजन गर्ने प्राविधिकहरुलाई अहिले एम २० अनुसार लागू गर्न निर्देशन दिएका छौं’, श्रेष्ठले भने ‘एकैपटक परिवर्तन गर्न गाह्रो छ । बिस्तारबिस्तारै कडाइका साथ लागू गर्ने पक्षमा छौं ।’