सल्यान/यहाँको एक विद्यालय सात वर्षदेखि चन्दाका भरमा सञ्चालन भइरहेको छ । कालागाउँ–७ मा रहेको निमाविमा आवश्यकतानुसारका दरबन्दी स्वीकृत नभएपछि विद्यालयले समुदायमा चन्दा उठाएर सञ्चालन गरिरहेको छ । विसं २०४६ मा स्थापित विद्यालयमा दुई जनाको मात्र दरबन्दी रहेकाले बाँकी पाँच शिक्षकका लागि चन्दा उठाउनुपरेको विद्यालयले जनाएको छ । शिक्षकको तलबका लागि विद्यालयमा अर्को कुनै भरपर्दो स्रोत नभएकाले चन्दा सङ्कलन गरिएको विद्यालयका प्रधानाध्यापक नोखीराम वलीले जानकारी दिए । “वार्षिक रुपमा अभिभावकसँग रु २०० देखि एक हजारसम्म चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब खुवाइरहेका छौँ । विद्यालयमा कुनै भरपर्दो आर्थिक स्रोत नभएकाले चन्दा सङ्कलन गरेका हौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक कार्कीले भने, “स्थानीय समुदायबाट आफूखुसी दिने चन्दाले विद्यालय चलाएका छौँ।” विसं २०६५ मा विद्यालयले निमाविसम्मको अनुमति पाए पनि दरबन्दी स्वीकृत नभएका कारण विद्यालय सङ्कटमा परेको प्रअ ओलीले जानकारी दिए । सरकारले विद्यालयलाई अनुमति मात्र दिने तर दरबन्दी नदिने भएकाले समस्या भएको उनकाे भनाइ छ । दरबन्दीका लागि जिल्ला शिक्षा कार्यालयमा पटक पटक निवेदन पेस गरे पनि त्यसको कुनै सुनुवाइ नभएको र अनुगमनपछि निर्णय गर्ने जनाउँदै कार्यालय पन्छिने गरेको ओलीले बताए । विद्यालयमा २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।