[caption id="attachment_4568" align="alignleft" width="384"]kaidi फाईल फोटो[/caption] जनकपुर/ जलेश्वर कारागारमा रहेका कैदीबन्दी विभिन्न रोगको सिकार हुन थालेपछि अहिले महारमारीको उच्च जोखिममा परेका छन् । कारागार प्रशासनका अनुसार विभिन्न सजाय भोगिरहेका कारागारभित्रका कैदीबन्दी झाडा–पखाला, छाला, घाउ कटिरा, ज्वरो जस्ता रोगको प्रकोपबाट प्रभावित भएकोले महामारीको उच्चजोखिममा परेका हुन् । गम्भीर प्राकृतिका रोग लागेका कैदीबन्दीको व्यवस्थापन विभागले उपचार गरे पनि समान्य रोग भए स्थानीय कारगार प्रशासनले उपचार गर्दा पनि भरपर्दो उपचार नभएपछि कैदीबन्दी महामारीको उच्च जोखिममा परेको जेलर सोभेन्द्र ठाकुरले बताउनुभयो । १३५ जना कैदीबन्दी बस्ने क्षमता रहेको १५४ वर्ष पुरानो कारागारमा हाल ४९ महिला कैदीबन्दी, चारजना आश्रित बालबालिकासहित ३ सय ९६ जना कैदीबन्दी रहेकाले चाप बढ्न गएको हो । वर्षाको समय भएकाले कैदीबन्दी विभिन्न समस्याबाट ग्रसित भएका छन् । वर्षात्को समय सुरु भएपछि अहिले कारागारभित्र पानी जम्दा कैदीबन्दीलाई सुत्न समस्या, खाना पकाउने समस्या, दिसापिसाब गर्ने समस्या, खानेपानी, शौचालयको समस्या, भरपर्दो उपचारको समस्या देखा परेकाले कैदीबन्दी महामारीको उच्च जोखिममा परेको प्रशासनको भनाइ छ । वर्षासँगै ढलको उचित व्यवस्था नहुँदा बाहिरबाट आउने फोहर पानीले रोगको प्रकोप बढ्नुका साथै विषालु सर्पको बिगबिगी बढ्न गएकाले रातभरि जागेर बस्नुपर्ने बाध्यता रहेको कैदी रामदुलार यादवको गुनासो छ । आर्थिक अभावको कारण राणाकालिन सो कारागारको मर्मतसम्भार नहुँदा पानी चुहेर पालमुनी रात काटनुपर्ने बाध्यता रहेको अर्को महिला कैदी देवी साहको भनाइ छ । पुरानो तथा जीर्ण कारागार भवन पानीको निकास नहुनु कारागार डुबानमा पर्नु, ढलको उच्च व्यवस्थापन नहुनु, बाहिरका पानीसँगै गोमन जस्ता विषालु सर्प कारागारभित्र आउनाले हामीले नारकीय जीवन बिताउन बाध्य रहेको कैदी श्यामसुन्दर यादवको गुनासो छ । कारागार प्रशासनले केन्द्रीय कारागार व्यवस्थापन विभागलाई पत्राचार गरी महोत्तरी कारागारको उचित व्यवस्थापन गर्न बारम्बार आग्रह गरे पनि सुनवाइ नभएपछि कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य जेलर ठाकुरले बताउनुभयो । वर्षाको पानी भान्सा कोठामा छिर्नुले कैदीबन्दी कति दिन भोखभोकै बस्नुपर्ने बाध्यता छ । सरकारले कैदीबन्दीलाई प्रतिकैदी एक दिनको ७०० ग्राम चावल तथा नगद रु ४५ दिए पनि अहिलेको महँगीको समयमा सो रकम अपुग भएकोले बढाउनुपर्ने अर्का कैदी विजय पाण्डेको माग छ । कारागारभित्र पुरुष कैदीबन्दी तर्फ १० महिला कैदीबन्दी तर्फ दुईवटा गरी १२ शौचालय रहेपनि कैदीबन्दीको चाप बढ्नाले उनीहरु बिहानैदेखि लाइनमा बसेर शौच गर्नुपर्ने बाध्यता छ । कारागारभित्र कर्तव्य ज्यान, अपहरण, लेनेदेन, लागू औषध, चेलीबेटी बेचबिखन, डाँका, हातहतियार, सङ्गठित अपराध, जबरर्जस्ती करणी जस्ता मुद्दामा कैदीबन्दी सजाय भोगिरहेका छन् । रासस