hatya
इटहरी / इटहरी २ की १३ वर्षिया बालिका सपना भुजेलको शव ०७२ फागुन २० गते इटहरी-३ खोला किनारमा फेला परेको थियो । अघिल्लो साँझ रातीसम्म घरमा टीभी हेरेर बसेकी सपना भोली पल्ट खोलामा मृत अवस्थामा फेला परे पछि इटहरी प्रहरीले अनुसन्धान थाल्यो । इटहरी प्रहरीको अनुसन्धानबाट पनि सपनाको हत्यानै भएको पुष्टी भयो ।
तर, तीन महिना वित्दा पनि प्रहरीले सपनाको हत्यारा पत्ता लगाउन सकेको छैन । यो विषयमा सपनाको परिवार पनि चासो दिएर हत्यारा खोजी गर्न प्रहरीलाई दबाब दिन सकेको छैन । आर्थिक अवस्था कमजोर भएको भूजेल परिवारलाई इटहरीमा क्रियाशिल महिला तथा अधिकार कर्मी पनि यो विषयमा खुलेर प्रहरीलाई दबाब दिन गएका छैनन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारीले भने सपनाको हत्यानै भएको भए पनि हत्याराको पहिचान गराउन समस्या भएको बताए । ‘घरकै मान्छे पनि यो विषयमा खुलेर बोल्न चाहँदैनन्’ डिएसपी अधिकारीले भने ‘घटनाको अनुसन्धान भइरहेको छ, तर, हत्याराको पहिचान हुन सकेको छैन ।’ १३ वर्षीया भूजेल इटहरी(३ बुढी खोला किनारमा मृत फेला परे पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । इटहरी ३ मै त्यस अघि पनि संखुवासभाकी एक महिलाको पनि हत्या भएको थियो । तातलैया नजिकै प्रहरी चौकी छ । सपनाको घाँटी थिचि हत्या भएको अनुमान गरिएको थियो । नेपाल प्रहरीको अपराध अनुसन्धानमा काम गरी इटहरीमा पनि लामो समयदेखि फरार अभियुक्तलाई समेत पक्राउ गर्दै आएका डिएसपी अधिकारीको प्रहरी टोली सपनाको हत्याको विषयमा भने सफल हुन सकेको छैन ।
घटनाको अनुसन्धानको लागि प्रहरी निरिक्षक रामचन्द्र तिवारीको नेतृत्वमा प्रहरी खटाउनुका साथै क्षेत्रीय प्रहरी कार्यालय विराटनगरबाट पनि अपराध अनुसन्धान टोली खटिएको डिएसपी अधिकारीले बताए । तर घटना भएको लामो समय बित्दा समेत दोषीको पहिचान नहुँदा पिडित परिवार थप पिडामा परेको छ । बुबा नरहेको र आमासँग बस्दै आएकी सपना अर्काकै घरमा काम गरेर पेटपाला गर्थिन् । यो परिवारले विद्यालय जान समेत पाएको थिएन । घटनापछि प्रहरीको अनुसन्धान टोलीले त्यस क्षेत्रका स्थानीय युवा तथा शंकाष्पद व्यक्तिलाई सोधपुछ गर्ने क्रम अझै गरिराखेको छ । हत्याको अनुसन्धानमा मोबाइल राम्रो सुराक पाउने आधार भएपनि सपनाले मोबाइल प्रयोग गर्ने हैसियत खराख्दा प्रहरीलाई अनुसन्धानम धावा परिरहेको बताइएको छ ।