maxresdefault लागु औषध नियन्त्रण ब्यूरोले ‘अपरेशन फिस’अन्तर्गत अवैध लागुऔषध दुई किलो ६८३ ग्राम कोकिनसहित विभिन्न राष्ट्रका चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भेनेजुयलाकी यमरिस कामरिस नारभाज, नाइजेरियाका मोहम्मद लामिनि डोबा, भारतका तोहिद खान र काठमाडौं महानगरपालिका–२९ रानीबारी बस्ने तनहुँ धर्मपानी–९ का दिलबहादुर गुरुङ रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यमरिसलाई यही जेठ ९ गते ठमेलबाट, मोहम्मदलाई आज सोह्रखुट्टेबाट तथा खान र गुरुङलाई काठमाडौं क्षेत्रपाटीबाट मङ्गलबार पक्राउ गरिएको ब्यूरोले जानकारी गराएको छ । पक्राउ परेकामध्ये यमरिस वैशाख २५ गते दुबई हुँदै काठमाडौं आएर ठमेलको गेष्ट हाउसमा बसेकी थिइन् । उनले जेठ १ गते माछा मार्न प्रयोग हुने डोरीको बन्डलभित्र लुकाएर ल्याएको कोकिन नाइजेरियन नागरिक मोहम्मद र दिलबहादुरलाई दिएकी थिइन् । उनलाई एक हजार ५०० अमेरिकी डलर दिने सर्तमा भेनेजुयलाकी क्याथरिनले सो कोकिन बोकाएर नेपाल पठाएको खुल्न आएको छ ।
दिलबहादुर लामो समयदेखि लागु औषध चरेस विभिन्न वस्तुहरुमा लुकाईछिपाई हङकङ, थाइल्यान्ड, भारतलगायतका देशहरूमा ओसारपसार गर्ने मुख्य व्यक्ति भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।  उनीहरुबाट बरामद लागू औषधको अन्तर्राष्ट्रिय बजारमूल्य रु पाँच करोड ३६ लाख ६० हजार हुन आउने ब्यूरोले जनाएको छ ।RSS